Saturday, February 2, 2013

सुस्तामा दाबी छाड्न भारतीय दबाब


बहुचर्चित नेपाली भूमि सुस्तामा नेपाली स्वामित्वको दाबी छोड्न भारतले नेपालसँग औपचारिक प्रस्ताव गरेको छ। नेपाल–भारत सीमा सम्बन्धी प्राविधिक समितिको २९औं बैठकमा भारतले नेपालमा राष्ट्रिय मुधा बनिरहेको सुस्तामा नेपाली स्वामित्वका दाबी छोड्न खतरनाक प्रस्ताव गरेको हो।२०६४ जेठ २८ र २९ गते भारतको नयाँदिल्लीमा सम्पन्न सीमा बैठकमा राष्ट्रियतासँग जोडिएको अत्यन्त महत्वपूर्ण विषयमा भारतले गरेको प्रस्ताव सरकारले दुई वर्षदेखि लुकाएर राखेको छ। उक्त बैठकमा भारतले गरेका प्रस्तावलगायतका महत्वपूर्ण निर्णय दृष्टिमार्फत् सार्वजनिक भएको छ।
बैठकमा भारतीय पक्षका टोली प्रमुख सर्वेयर जनरल मेजर जनरल एम गोपाल रावले सुस्तामा नेपालले दावी छोड्नुपर्नेसहितको पाँच बुँदा प्रस्ताव गरेका थिए। त्यसमा जनरल रावले भनेका छन्– ‘नर्साइ सुस्ताको सीमा सम्बन्धमा सन् १९०२ मा तत्कालीन भारतीय शासक र नेपालका प्रधानमन्त्री चन्द्रशमशेर जबराले हस्ताक्षर गरेको नक्सा भारतसँग छ र भारतले उक्त नक्साको वैधतालाई स्वीकार गर्नुपर्दछ। भारतले नेपालसँग उक्त क्षेत्रको सीमासम्बन्धी कुनै प्रमाण भए उक्त प्रमाण पेश गर्नुपर्ने अन्यथा भारतीय पक्षको प्रमाणहरु स्वीकार गर्न दबाब दिएर सुस्ताको नेपाली भूमि सदाका लागि हडप्ने प्रस्ताव राख्दासमेत नेपाल सरकारको कानमा बतास लागेको छैन। अचम्मको पक्ष त के छ भने विदेशी प्रभुका सामु लम्पसार नपर्ने क्रान्तिकारी भाषण गर्दै सत्ता छोडेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समेत आफू प्रधानमन्त्री हुँदा सुस्तालगायतका सीमा समस्या समाधानमा कुनै पहल गरेका छैनन्। सत्ता छोडेपछि राष्ट्रियताका नाममा आन्दोलन गरिरहेको माओवादी आफू सत्तामा रहँदा सीमा समस्यामा मौन रहनुले उसको द्वैध चरित्र छर्लङ्ग भएको छ।
सीमा अभियानकर्ता साध्यबहादुर भण्डारी १८६४ मा नेपाल भारतबीच भएको सीमांकनमा सुस्ता नेपालको भएको स्वीकार गरिएकाले त्यही अनुसार हुनुपर्ने बताउँछन्। ‘सुस्ता पहिला उत्तर प्रदेशसँग सीमा जोडिएको थियो पछि नारायणी नदीले धार परिवर्तन गरेपछि सुस्ताको सीमा बिहारपट्टि भयो। त्यसपछि बिहारले १९८८ मा सुस्ता आफ्नो भूमि भएको दाबी गर्दै नयाँ नक्सा बनाएपछि समस्या आएको हो। भण्डारीले दृष्टिसँग भने– अहिलेभन्दा नौ किलोमिटर दक्षिण हाम्रो सीमा हो।’ सुस्तामा अहिले करिब १४ हजार हेक्टर अर्थात् २१ हजार विघा जमिन भारतले मिचेको छ। सुस्तामा ४५ हजार विघा जमिन पञ्चायतकालमा र १२ हजार विघा बहुदलकालमा मिचिएको भण्डारीले बताएका छन्। अनटेकार भूमि सुस्तामा २०२० सालपछि आवाद भएको हो। हाल सुस्तामा दुई हजार ६ सय नेपालीको बसोबास छ।
नेपाल–भारत सीमा समस्या बढिरहेको भए पनि प्राविधिक समितिको म्याद थप गर्न दुवै देशका सरकारबाटपहल नहुँदा समस्या झन् बढिरहेको छ। २९ औं बैठकले बहुचर्चित कालापानी र सुस्ताका सम्बन्धमा २०६४ साल असोज मसान्त भित्रै दुवै पक्षले आ–आफ्ना नक्सा र प्रमाणिक कागजातहरु आदन प्रदान गर्ने सहमति भएको थियो। नापी विभाग स्रोतका अनुसार नक्सा आदानप्रदान गर्ने सहमति भएको दुई वर्ष बितिसक्दा पनि नक्सा र कागजात आदानप्रदान भएको छैन। कालापानी र सुस्ताबाहेक सीमा विवाद रहेका स्थानमा सहमतिबाट सीमा विवाद टुंग्याउँदा नेपालले छ सय विघा नेपाली भूमि गुमाउने र ६२० विघा जमिन भारतबाट प्राप्त हुने आँकडा २९ औं बैठकले निकालेको छ।
सीमा प्राविधिक समितिको २९ औं बैठकबाट नेपाली पक्ष सीमा समस्या समाधानमा गम्भीर नभएको तथ्य पनि उजागर भएको छ। बैठकमा काठमाडौंमा भएको सीमा समितिको २८ औं बैठकले नेपालले भारतीय नक्सा र प्रमाणहरुको अध्ययन गर्न एक टोली पठाउने सहमति गरेको थियो। तर, सहमतिअनुसार नेपालले आफ्नो प्राविधिक टोली नपठाएको विषय बैठकमा भारतीय पक्षका टोली नेता सर्भेयर जनरल रावले उठाएका छन्। नेपाल–भारत सीमा समस्या एकपछि अर्को गरी बल्भि्करहेको अवस्थामा नेपालले अझैसम्म प्राविधिक टोली नपठाएको स्रोतले बताएको छ।
माओवादीको सत्ता वहिर्गमनसँगै दाङको कोइलावासमा भारतले गरेको ज्यादति राष्ट्रिय मुद्दा बन्यो। २९ औं बैठकमा दाङको सीमा स्तम्भ ३८ र ४० बीचमा नेपालले शारदा ब्यारेजको क्षतिपूर्तिका रुपमा प्राप्त ६५ एकड प्रयोग गर्दै आएको भएता पनि उक्त वस्ती समेत भएको भूमि भारतीय सीमा क्षेत्रमा परेको छ। कञ्चनपुरमा नेपालले भारतलाई शारदा ब्यारेज बनाउन उपलब्ध गराएको करिब ३२ एकड अतिरिक्त भूमि फिर्ता हुनुपर्ने दाबी नेपालले त्यागेमा मात्र कोइलावासको भूमि भारतले छोड्ने जनाउ दिएको छ। तर, बैठक नै नबसी भत्ता पचाउँदै आएको सार्वभौमसत्ता संसदका सभासदले समेत सीमा समस्या समाधानमा अध्ययन गरेका छैनन्।
२०६४ जेठ २८ र २९ मा नयाँदिल्लीमा सम्पन्न नेपाल–भारत सीमा प्राविधिक समितिको २९ औं बैठकले गरेका निर्णय
भारतका सर्भेयर जनरल मेजर जनरल एम गोपाल रावको भनाइ
संयुक्त प्राविधिक समितिको अवधि जुन २००७ सम्म कायम भएकोमा हालसम्म भएका सीमा सम्बन्धी कार्यहरुको सकारात्मक प्रतिफल आउनु पर्दछ। ३०, जुन २००७ सम्मा संयुक्तरुपमा तयारभएका नक्साहरुमा उभिलष्उयतबचष्तष्बचथ स्तरमा हस्ताक्षर हुनुपर्दछ। र सुरुवातमा ५ वटा नक्सा सिटहरुमा हस्ताक्षर गरी प्रक्रिया जारी गर्नुपर्दछ। कालापानी र नसाई सुस्ता सहितका केही सीमा विवादहरु सम्बन्धमा यो बैठकमा टुंगो लाग्न नसकेका विषयमा दुवै पक्षले आ–आफ्ना सरकारलाई उपायसहितका सुझाव दिने। नर्साइ सुस्ताको सीमा सम्बन्धमा सन् १९०२ मा तत्कालीन भारतीय शासक र नेपालका प्रधानमन्त्री चन्द्रशमशेर जबराले हस्ताक्षर गरेका नक्सा भारतसँग छ र नेपालले उक्त नक्साको वैधतालाई स्वीकार गनुृपर्दछ। यदि नेपालसँग उक्त क्षेत्रको सीमासम्बन्धी कुनै प्रमाण छ भने उक्त प्रमाण पेश गर्नुपर्छ। अन्यथा भारतीय पक्षको प्रमाणहरु स्वीकार गर्नुपर्दछ। गत काठमाडौं बैठकमा निर्णय भएअनुसार नेपालले भारतीय नक्सा र प्रमाणहरुको अध्ययन गर्न देहारादूनमा आफ्ना प्राविधिक पठाएन।
(नोट ः यद्यपी यो लेख धेरै पुरानो हो, तर अझैसम्म पनि नेपाल सरकार र यहाँका नेता भनाउँदाहरुले सुस्ताको मात्र होइन भारतिय विस्तारवादले मिच्दै आएको नेपाली भूभागको बारेमा चुइँक्क केही बोल्न नसकेको परिप्रेक्षमा यसलाई यहाँ प्रकाशित गरिएको छ । कृपया, गहन अध्ययन गरिदिनुहुन अनुरोध छ ।)

सुस्तामा भारतीय सुरक्षाकर्मी हतियारसहित नेपाल छिरेर नेपालीहरुलाई त्रसित परिरहेको छन्

सुरक्षा नीतिअनुसार नेपाल र भारतका सुरक्षाकर्मी हतियारसहित एकअर्का देशको भूमिमा हतियारसहित प्रवेश गर्न पाइँदैन । तर सुस्तामा भारतीय एसएसबीका सुरक्षाकर्मी भने हतियार लिएर प्रवेश गर्ने गरेका छन् । पटकपटक भारतीय अतिक्रमणको चपेटामा पर्दै आएको सुस्तामा हालसम्म १४ हजार हेक्टर नेपाली भूभाग भारतीय पक्षले अतिक्रमण गरिसकेको पुष्टि भए पनि गुमेको सुस्ताको भूमि सुस्तावासीलाई फर्काउन सरकारी पक्षबाट खासै पहल भएको पाइँदैन । भारतीय एसएसबीका सुरक्षाकर्मी खुलेआम हतियारसहित प्रवेश गर्दा पनि नेपाली प्रशासन मौन छ । यसबारे नवलपरासीका प्रमुख जिल्ला अधिकारी परशुराम अर्यालले आफू अनभिज्ञ रहेको बताए । उनले भने – “अर्काको देशमा हतियार लिएर प्रवेश गर्न पाइँदैन । यस्तो भएको पाइए कानुनअनुसार भारतीय पक्षका सुरक्षाकर्मीलाई समेत कारबाही गर्न पहल गर्छु ।”

सुस्तामा २६७ घरधुरीका करिब दुई हजार ५०० जनसङ्ख्या छ। विगतमा सुस्ता छुट्टै गाविस थियो तर भारतीय पक्षको अतिक्रमणका कारण सोही सुस्ता अहिले त्रिवेणी सुस्ता गाविस वडा नं ४ मा पर्दछ र यस वडाको आधा क्षेत्रफलमा समिति बनेको छ । सुस्ताको नजिक रहेको भारतीय सीमा क्षेत्रमा भारतीय एसएसबीले तीनवटा सम्म शिविर स्थापना गरी सीमा क्षेत्रमा आफ्नो बलियो उपस्थिति देखाइआएको छ ।यसबारे सीमा सुरक्षा बल नवलपरासीका सशस्त्र प्रहरी उपरीक्षक चित्रबहादुर खत्रीले आफू यसबारे अनभिज्ञ रहेको बताउँदै नेपाल र भारतको सीमासम्म भारतीय सुरक्षाकर्मीले हतियार लिएर आए पनि नियमअनुसार नेपाली भूभाग सुस्तामा हतियारसहित कुनै पनि हालतमा प्रवेश गर्न नपाइने तर्क गरे ।नवलपरासीका प्रहरी उपरीक्षक कमलबहादुर जिटीले राज्यले सुस्तामा सुरक्षाकर्मीको बलियो उपस्थिति बनाउन निकै आवश्यक रहेको बताए । सुस्तामा भारतीय सुरक्षाकर्मीलाई हतियारसहित गस्ती गर्ने अधिकार नहुने पनि उनले बताए ।

काला पानी लागि सक्यो अब सुस्ता लान्छु भन्छ


काला पानी लागि सक्यो अब सुस्ता लान्छु भन्छ
यसै गरी पुरै नेपाल उतै तिर तान्छु भन्छ
तिश्टा अनि काकाडा त एका देश को कथा भयो
जुन भुमी राम्रो लाग्यो त्यो म आँफै छान्छु भन्छ
बाइश गुणा ठुलो म त तर भुमी लुट्या छैन
लुट्या भए मरी जाउ यस्तै कशम खान्छु भन्छ
तिम्रै देश को पानी न हो सिच्ने मेरो भुमिलाई
त्यही भुमी बाट सधैं जीवन आफ्नो धान्छु भन्छ
सानो सहयोग गर्दा पनि नेपाली त खुशी ओ हो
त्यसैले त नेपालीलाई सच्चा मित्र ठान्छु भन्छ
बोल्नै हुन्न केही पनि थर्काउन पो खोज्छ उल्टै
भुमी लुटिस् भन्यो भने बम गोला नै हान्छु भन्छ

Saturday, January 26, 2013

माछी मार्न जाँउन दाजै कालापानीमा

माछी मार्न जाँउन दाजै कालापानीमा
माछी मार्न जाँउन दाजै कालापानीमा
छेकि बारी दुवाली महाकालीमा
माछी मार्न जाँउन दाजै कालापानीमा
माछी मार्न जाँउन दाजै कालापानीमा
बनको काँडाले कहिले नि कोरेन
फलामे काँडा को तार अहिले
मनपरी हैन गाँठे हाम्रो पानीमा
मनपरी हैन गाँठे हाम्रो पानीमा
आलै छ घाउ अठारको नालापानीमा
माछी मार्न जाँउन दाजै कालापानीमा
माछी मार्न जाँउन दाजै कालापानीमा
नेपाली खै कुरा बुझेको मनपरी जनसँख्या बढेको
नेपाली खै कुरा बुझेको मनपरी जनसँख्या बढेको
बिदेशको नोकरीको भर छैन
बिदेशको नोकरीको भर छैन
फर्केर आउँदा घर छैन
माछी मार्न जाँउन दाजै कालापानीमा
माछी मार्न जाँउन दाजै कालापानीमा
तोडिदेउ नचाँहीने ढोका स्वदेशी हो कम्मरै कस
तोडिदेउ नचाँहीने ढोका स्वदेशी हो कम्मरै कस
मेला भर्न जाँउन दाजै मेची बगर् 
मेला भर्न जाँउन दाजै मेची बगर्
पशुपतिनगर जङे पिलर
माछी मार्न जाँउन दाजै कालापानीमा
माछी मार्न जाँउन दाजै कालापानीमा
माछी मार्न जाँउन दाजै कालापानीमा
माछी मार्न जाँउन दाजै कालापानीमा
माछी मार्न जाँउन दाजै कालापानीमा

कालापानीमा विस्तारवादको नंग्रा


- रमेश लम्साल

“पश्चिम किल्ला कांगडा, पूर्वमा टिष्टा पुगेथ्यौं, कुन शक्तिको सामुमा कहिले हामी झुकेथ्यौं” यो राष्ट्रिय गीत नसुन्ने र जीवनमा एकपटक नगाउने व्यक्ति कमै होलान् । तर, यो राष्ट्रियगीतमा उल्लेख गरिएको बहादुरी अनि सिमाना रक्षाको मर्मलाई लत्याएर भारतको आडभरोसामा आफ्नो कुर्सी टिकाउने खेलमा नेपालका राजनीतिक दलहरू अविछिन्न रूपमा लागिरहेका छन् । भारतले एकपछि अर्को गर्दै नेपालको भू-भागमाथि हस्तक्षेप गरिरहे पनि कानमा तेल हालेर सुत्ने राज्य सञ्चालकबाट खोसिएको र लुटिएको भूमि फिर्ता ल्याउने सपना कोही कसैले देखेको छ भने त्यो सपनाबाहेक अरू केही हुन सक्दैन ।

भारतीय विस्तारवादले नेपालको एक सय २५ भन्दा बढ्ता स्थानमा अतिक्रमण गरेको तथ्य सार्वजनिक गर्ने राजनीतिक पार्टी राष्ट्रियताको मुद्दालाई केवल सत्ताको भर्‍याङका रूपमा मात्रै परिभाषित गर्ने गरेका छन् । हाम्रो सिमानामा अतिक्रमण भएको कालापानी र लिम्पियाधुरामात्रै होइन अन्यत्र पनि छ । सुगौली सन्धिबाट प्राप्त भुमीलाइ नयां मुलुक भनिएको छ, त्यसलाई मात्रै आधार मान्दा पनि धेरै भूमि गुमेकै छ । कालापानीको सन्दर्भमा आज काली नदी कुन हो भन्ने प्रश्न उब्जेको छ, त्यहां भारतले नक्कली काली नदीको मुहान र मन्दिर बनाएर नेपालको ३७२ वर्ग किलोमिटर भू-भाग हस्तक्षेप गरेको छ ।

 यतिखेर एकीकृत नेकपा (माओवादी) ले पांच ‘स’ अन्तर्गत नागरिक सर्वोच्चता, राष्ट्रिय स्वाधीनता, शान्ति, नयां संविधान र संयुक्त राष्ट्रिय सरकारको मागसहित राष्ट्रिय स्वाधीनताको मुद्दालाई प्रमुख रूपमा उठाएपछि कालापानीमा भारतीय सशस्त्र फौजले जारी राखेको हस्तक्षेपको मुद्दा पनि सतहमा आएको छ । भारतीय हस्तक्षेप पछिल्लोपटक सतहमै देखिएको भन्दै माओवादीले भारतसामु पांचवटा प्रस्ताव पेस गरेको छ । जसमा सन् १९५० को असमान सन्धिको खारेजी, नयां सन्धि गर्नुपर्ने र अहिलेसम्मका गोप्य सन्धि सार्वजनिक गर्नुपर्ने सुस्ताको समस्या अविलम्ब हल गर्नुपर्ने, कालापानीबाट भारतीय सेना हट्नुपर्ने र अविलम्ब सम्पूर्ण सीमा समस्या हल गर्नुपर्ने कुरा प्रमुख रूपमा उठाएको  छ । गतिलो अडानका रूपमा कालापानीबाट भारतीय सेना हट्नुपर्छ भनेर माओवादीले विषयको उठान गरेपछि राष्ट्रवादी शक्तिमा चेतनाको सञ्चार भएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय स्वाधीनताको रक्षाका खातिर आमजनसमुदायलाई संघर्षमा उत्रन आह्वान गरेपछि भारतका पिछलग्गुको होस हवास उडेको विश्लेषक बताउंछन् । पुस ७ गते बानेश्वरमा प्रचण्डले प्रस्ट भनाइ राखेपछि राष्ट्रिय आन्दोलन नयां उचाइमा उठेको छ । सुगौली सन्धिपछि अर्धऔपनिवेशिक राष्ट्रका रूपमा रहंदै आएको नेपालमा पछिल्लोपटक राष्ट्रियताको सवालमा यति धेरै चिन्तित भएको पार्टी माओवादी नै हो भन्ने विश्वाससमेत जनसमुदायमा परेको छ । यसले भारतको विस्तारवादी चरित्र मात्रै उदांगो पारिदिएको छैन, उसको कथित प्रजातन्त्रको सक्कली रूपसमेत विश्वसामु छर्लंग देखाइदिएको छ । माओवादीले पुस १० देखि माघ १० गतेसम्म राष्ट्रिय जागरण तथा भन्डाफोर अभियान सञ्चालन गर्ने भएको छ । जसमा भारतले हस्तक्षेप गरेको भू-भागमा समेत गएर विशेष कार्यक्रम गर्ने कुरा सार्वजनिक भएपछि लुटिएको भूमि फिर्ता हुने आस पलाएको बताइन्छ ।

 के हो त कालापानी समस्या :

१४ मार्च १८१६ मा गरिएको सुगौली सन्धिलाई आधार मान्ने हो भने नेपालको पश्चिमी सीमा काली नदी भनिएको छ । काली नदी भनेको हालको महाकाली नदी हो । यसलाई सीमा नदी भनिएको छ । उक्त सन्धिमा भारत महाकाली पश्चिम हो भनिएको छ । तर, कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री भएका बखत महाकालीलाई सीमा नदी मान्दै गम्भीर राष्ट्रघात गरेका थिए । तत्कालीन राजा महेन्द्रको कथित राष्ट्रवादी राज्य सत्ताकै समयमा सन् १९६२ मा कालापानीमा सशस्त्र भारतीय फौजको क्याम्प राख्न दिए । भारतलाई रिझाउन र आफ्नो सत्ता टिकाइराख्न उनले नेपालको सार्वभौमिकतामाथि भारतलाई बलात्कार गर्ने स्वीकृति प्रदान गरेको सरोकारवालाहरू बताउंछन् । हाल, कालापानीमा तीन हजार पांच सय बढीको संख्यामा सशस्त्र भारतीय सैनिकको उपस्थिति रहेको छ । नेपालका चारवटा गाउं कुटियाङ्दी, नाबी, गुन्डी र कालापानीको एक सय ८७ वर्गकिलोमिटर र कालापानीदेखि लिपुनालासम्मको ६२ वर्ग किलोमिटरसम्मको जम्मा दुई सय ४९ वर्गकिलोमिटरमा १९६२ देखि सुरु गरेर स्थायी सैनिक क्याम्प राखिएको छ । जहां भारतीय स्थल सेनाले हिमाली क्षेत्रमा गरिने अप्रेसनको अभ्याससमेत गर्ने गरेको छ । उसले लिपुलेकदेखि छाङ्रुसम्मको भू-भागसमेत कब्जा गरेको छ । भारतीय सेनाको ज्यादती तत्काल अन्त्य गरी, कालापानी क्षेत्रबाट उसको क्याम्प हट्नुपर्ने माग विगतदेखि नै उठेपनि हालसम्म उसले सो स्थान छोडेको छैन । सन् १८६० मा सन्धि भएपछि नेपाल भारत सीमामा सन् १८६४ मा पिल्लर गाड्ने काम गरियो । नेपाल सरकारले लिम्पियाधुरालाई त्रिकोण बिन्दुका रूपमा प्रस्तुत गर्दा चीन र भारतको समेत सहमति हुनुपर्ने हुंदा त्यो हुन नसकी सीमा कायम हुन नसकेको बताइन्छ । जसका कारण अतिक्रमण त्यसैताका देखि अद्यावधि कायम छ । विज्ञहरूका अनुसार भारतीय सशस्त्र फौजले भक्तपुरको भू-भाग जतिको क्षेत्रफल जबरजस्ती हडपेको छ । भारतले हस्तक्षेप गरेको यत्रो लामो समय भइसक्दा पनि त्यसलाई फिर्ता गराउने र सीमा समस्या हल गर्नेतर्फ कोही कसैले पहल गरेनन् । यसबाट देशभक्त नेपालीलाई पीडा हुनु स्वाभाविकै हो ।

 के भन्छ ऐतिहासिक तथ्य ?

नेपालको परराष्ट्र मन्त्रालयमा विसं १९९४ को अमिनी गोश्वाराको मुन्सी खानाबाट जाहेरी भएको पोका नं. २ मा रहेको प्रमाणले कालापानी लिम्पियाधुरा नेपालको हो भन्ने प्रस्ट रहेको विज्ञहरू बताउंछन् । सीमाविद् चेतेन्द्रजंग हिमालीको पुस्तक महाकाली वारि महाकाली पारिमा पनि यो कुरा प्रस्ट उल्लेख गरिएको छ । त्यस्तै, नेपाली सेनाको हेडक्वार्टरमा रहेको नक्सामा पनि यो कुरा प्रस्ट उल्लेख गरिएको छ । तर, भारतले कुटियाङ्दी आफ्नो हो भन्ने देखाउन त्यसक्षेत्रको ३ पैसाको तिरो रसिद प्रस्तुत गरेर झूटको खेती गरेको छ । यथेष्ट नक्सा प्रमाण नापी विभागसाग भए पनि उसले नागरिकलाई दिन चाहेको छैन । उता, भारतले काली नदी कुन हो भन्ने प्रश्न खडा गरेर अर्को बखेडा झिकेको छ । कुटियाङ्दी नै काली नदीको मुहान हो । कुटीलाई मगर भाषामा (सौका) काली भनिन्छ । सन् १८१८ मा निर्धारण गरिएको सीमा लिम्पियाधुराभन्दा चार किमी पश्चिममा छ । जहां पिलर गाडिएको थियो, त्यो अहिले पाइंदैन ।

नदीको उद्गमस्थल वा मुहान भनेको सबभन्दा ठूलो र लामो जुन छ, त्यसैलाई मानिन्छ । तर, भारतले नक्कली काली नदीको मुहान निर्माण गरेको छ । चेतेन्द्रजंग हिमालीका अनुसार कालापानी भन्दा पश्चिम तीनवटा गाउं छन् । नेपालका कुटी नाभी र गुन्जी र १८७ वर्गकिलोमिटर जमिन समेत नेपालको छ । ६२ वर्ग किलोमिटर कालापानी पश्चिमको १८७ वर्ग किमी भूमि भारतको अतिक्रमणमा परेको छ । सुगौली सन्धिको दफा नं. ५ र “जोग्राफिकल प्रस्पेक्ट अफ नेपाल” नामक किताबको पेज नं. २१ ले काली नदी प्रस्ट रूपमा किटान गरिदिएको छ । त्यसैको आधारमा पनि काली पूर्वको सबै भू-भाग नेपालको हो भन्ने प्रमाण पुग्छ । २९४ किमी भूमिमात्रै होइन । लिम्पियाधुरादेखि लिपुलेकसम्म २४९ वर्ग किमी जमिनसमेत भारतले जबर्जस्ती हडपेको छ । लिम्पियाधुराको सिरानमा भारतीय सैनिकको ठूलो क्याम्प खडा गरिएको छ, जुन क्याम्पले चीनको जासुसीसमेत गर्ने गरेको छ । त्यस स्थानबाट तिब्बती पठारको मनोरम दृश्यमात्रै होइन तिब्बती क्षेत्रका गतिवधिसमेत देख्न सकिन्छ । त्यसकारण भारतले आफ्नो प्रमाण कमजोर हुंदाहुंदै पनि जबर्जस्ती हस्तक्षेप गरेको छ । त्यस्तै ७ मार्च १९४८ मा फिल्डबुकसमेत भारतले बेलायतको म्याप अफ इन्डियाबाट जबर्जस्ती ल्याएर देहरादुनमा राखेको छ । त्यो फिल्डबुक अगाडि ल्याइयो भने धेरै भू-भाग उसले छोड्नुपर्छ । त्यस्तै पटक-पटक प्रकाशित भएमा नक्सामा समेत प्रस्टसंग उल्लेख गरिएको छ । अमेरिकाको लाइब्रेरी अफ कांग्रेसमा रहेको नक्सामा समेत काली नदी कुन हो भन्ने कुरा प्रस्ट छ । लिम्पियाधुरा, छोटे कैलाशको फेदी गोलिङ्कन हिमालको फेदीमा रहेको बिन्ती तालबाट निस्किएको नदी नै काली नदी हो । लिम्पियाधुरा नेपाल, चीन र भारतको पुरानै त्रिकोण बिन्दु हो । त्यस आधारमा हाम्रो तथ्य र प्रमाण प्रस्ट छन् । त्यसैगरी मालपोत कार्यालय दार्चुलामा विसं १९९७ सालको नापीअनुसार कोबी, नाब गुन्जी, तुल्सेनुरान, कालापानी क्षेत्र नेपालको नाममा दर्ता रहेको छ । त्यसलाई नै ऐतिहासिक प्रमाण मान्ने हो भन्ने त्यो भू-भाग नेपालकै हो भन्ने प्रस्ट हुन्छ ।

 अझै जारी छ हस्तक्षेप :  

भारतीय सशस्त्र फौजले अझै कालापानी क्षेत्रमा हस्तक्षेप जारी राखेको दार्चुलाका स्थानीयवासी बताउंछन् । नेकपा (एमाले) को विभाजनपछि बनेको नेकपा (माले) को नेतृत्वमा रहेको अनेरास्ववियूले कालापानी क्षेत्रमा मार्च गरेपछि ६ सय चौडा अगाडि बढेर ६८८ वर्ग किमी भूमि कब्जामा लिएका छन् । त्यहां नेपालीलाई प्रवेश निषेध गरिएको छ भने नेपालको जंगल पूर्णरूपमा ध्वस्त पारिएको सरोकारवालाहरू बताउंछन् । पछिल्लो समयमा माओवादीको सहायक संगठन योङ कम्युनिस्ट लिगले भारतीय हस्तक्षेपविरुद्ध देशव्यापी प्रदर्शन गरेपछि अतिक्रमित क्षेत्रमा थप दुईवटा हेलिप्याड र अत्याधुनिक फोर्टिफिकेसन निर्माण गरिएको छ । १५०० मिटर वरै नेपालीलाई रोक्ने र बढे गोली हान्ने धम्कीसमेत दिने गरिएको बताइन्छ । सोही स्थानमा केही दिनपछि माओवादीले विशाल जनसभाको आयोजना गर्ने बताएपछि भारतीय सेनाको गतिविधि बढेको स्थानीयवासी बताउंछन् । यसबाट भारतीय विस्तारवाद अतिक्रमित भूमिलाई छोड्न चाहंदैन र नेपालको भौगोलिक अप्ठ्यारोलाई देखाएर सदा उसलाई दास बनाउन चाहन्छ भन्ने कुरासमेत पुष्टि भएको विश्लेषकहरू बताउंछन् ।

 कालापानीबारे कसले के भनेका छन् ?

तत्कालीन भारतीय राजदूत केभी राजनले ३ जुन १९९८ मा एक विज्ञप्ति जारी गरेर भारत, चीन र नेपालको त्रिकोणीय बिन्दुलाई आधार मान्न सकिने बताएका थिए । ऐतिहासिक पृष्ठभूमिको आधारमा पनि दुवै देशले चाहने हो भने समस्या समाधान हुने बताएका थिए, तर त्यसैको केही दिनपछि १० जुन १९९८ मै वीरगन्जमा जारी गरिएको अर्को विज्ञप्तिमा कालापानी भारतकै भू-भाग हो भनेर विस्तारवादी चरित्र प्रस्तुत गरेका थिए । त्यस्तै २ अगस्ट १९९९ मा उनले राजधानीकै एक कार्यक्रममा कालापानीमा भारतले कुनै गल्ती नगरेको कुतर्कसमेत पेस गरेका थिए । उनले कालापानीलगायतका क्षेत्र नेपालको भए प्रमाणसहित उपस्थित हुन नेपाल सरकारलाई चेतावनीसमेत दिएका थिए, तर आफूसंग भएको प्रमाणसमेत आजसम्म नेपालले प्रस्तुत गर्न सकेको छैन । चिनियां राजदूत चु योङले २ सेप्टेम्बर १९९९ मा कालापानी नेपालमै पर्छ र सन्धिअनुसार त्यो क्षेत्र नेपालकै हो भनेका थिए । १९९७ जुन ९ मा नेपाल आएका भारतीय प्रधानमन्त्री आइके गुजरालले दुई देशबीचको संयुक्त सीमा निरीक्षण टोलीले कालापानी लगायतको समस्या हल गर्ने बताएका थिए । तर, १६ जुलाई १९९८ मा भारतीय विदेशमन्त्री बसुन्धरा राजेले २५ किलोमिटर भू-भाग नेपालले कालापानी क्षेत्रमा दाबी गरेको लिखित मन्तव्य दिएकी थिइन् । नेपालका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले संसद्मा बोल्दै कालापानीको एक इन्च भूमि नेपालले छोड्दैन भन्ने मन्तव्य दिए पनि त्यसलाई पूरा गराउन सकेनन् । माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा रहेको सरकारले १९५० को सन्धि खारेज गर्ने र त्यही आधारमा कालापानीबाट सशस्त्र फौज हटाउने बताए पनि काम भने हुन सकेन । परराष्ट्रमन्त्री उपेन्द्र यादवले त अन्तर्राष्ट्रिय मापदण्डअनुसारको नक्सा नभेटिएका कारण समस्या हल हुन नसकेको बताएका थिए । तर, उनले नेपालकै परराष्ट्र मन्त्रालयमा रहेको नक्सा नापी विभागमा रहेको नक्सा र बेलायतले निर्माण गरेको १८१६ र १८६० को नक्सा हेर्ने झन्झट गरेनन् । उनकै सिको गरेर अहिलेको कठपुतली सरकारका परराष्ट्रमन्त्री सुजाता कोइरालाले भारतले नेपालको कुनै पनि भू-भाग मिचेको छैन भन्नेसम्मको कुतर्क गरेकी छिन् । योभन्दा लाजमर्दो विषय अरू के हुन सक्छ आम राष्ट्रवादी देशभक्त नेपालीका लागि ? त्यसकारण आफनो भूमि फिर्ता गराउन नेपाली स्वयंले नै आफ्नो भूमिका खोज्नुपर्ने बेला आएको छ ।

Wednesday, January 23, 2013

कालापानीमा भारतीय सेना : राष्ट्रिय अस्मितामाथि प्रश्न


- रतन भण्डारी

सुदूरपश्चिमाञ्चल विकास क्षेत्र राज्य विभेदको मात्र नभई वैदेशिक हस्तक्षेप एवं राष्ट्रघाती सन्धि सम्झौता केन्द्र रहंदै आएको इतिहास नौलो हैन । यस क्षेत्रमा घटित राष्ट्रघाती घटनाक्रमलाई खोतल्दै जांदा सन् १८६४ तिरै नेपालको एकल स्वामित्वमा रहेको महाकाली नदीको हालको शारदा ब्यारेजदेखि दक्षिण, नदीको बीचबाट रेखा तान्दै तत्कालीन इस्ट इन्डिया कम्पनी सरकारले तयार पारेको नक्सामा महाकालीमा भारतको हक कायम गराउने प्रयास गर्‍यो । जुन घटना नेपालको सीमा अतिक्रमणको इतिहासमा पहिलो मानिन्छ । त्यसपछि चन्द्रशमशेरले शारदा नहर निर्माण क्रममा ४०९३ दशमलव ८८ एकड भू-भाग कम्पनी सरकारलाई बुझाए ।

तत्कालीन प्रम. मातृका कोइराला सरकारले २००८ माघ २२ गतेदेखि भारतलाई नेपालको उत्तरी सिमानामा १८ वटा सैनिक चेकपोस्ट राख्न दियो । जसमध्ये दुईवटा चेकपोस्ट टिङ्कर (दार्चुला) र ताक्लाकोट (बझाङ) मा रहेका थिए । ती सैनिक पोस्ट २०२७ असार ४ गते हटाइए । मातृकाकै पालामा भारतीय सेनाले डोटीको बुडरमा वीर किसानयोद्धा भीमदत्त पन्तको हत्या गर्‍यो । भारत-चीन युद्धपछि सन् १९६२ मा राजा महेन्द्रको पालामा कालापानीमा भारतीय सैनिक बंकर बस्यो जुन अहिले पनि त्यहीं छ । त्यसपछि प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सन् १९९१ मा सहमति भन्दै टनकपुर सम्झौता गरे र टनकपुर ब्यारेजको पूर्वी तटबन्धको २ दशमलव ९ हेक्टर र जलाशयमा परेको २२२ हेक्टर जमिन भारतलाई बुझाए । पछि झन् एमालेको पूर्ण सहमतिमा प्रधानमन्त्री शेरबहादुर देउवाले सन् १९९६ मा त कथित सन्धिका नाममा महाकाली नदीको कन्यादान नै गरे । त्यसैगरी पछिल्लोपटक सबै लाभ भारतलाई जानेगरी पश्चिम सेती, माथिल्लो कर्णाली तथा गत मंसिरमा पञ्चेश्वर आयोजना विदेशी तथा भारतलाई नै बुझाउने काम भयो । जिमुवा, गड्डाचौकी, परासन, प्याराताल, सतीविरानाला तथा भजनीलगायतका सीमावर्ती क्षेत्रमा भारतीय अतिक्रमण अझै जारी छ । आखिर राष्ट्रघाती शृंखलाको अग्रपंक्तिमा सुदूरपश्चिम किन केन्द्रित छ ? यो आफैंमा रहस्य एवं खोजको विषय बनेको छ । जहांसम्म कालापानीको सवाल छ, यो अति संवेदनशील एवं गम्भीर विषय हो । नेपालको सार्वभौमिकता र राष्ट्रिय अखण्डतासंग जोडिएको प्रश्न हो ।

नेपाली भूमिमा भारतीय सेनाले बुट बजार्नु आमनेपाली जनताका लागि कुनै पनि हालतमा सह्य कुरा होइन । कालापानीमा भारतीय सेनाको बल मिचाइंपूर्ण उपस्थिति हाम्रा लागि राष्ट्रिय लज्जामात्र नभई ज्युंदै मरेको अवस्था हो । कालापानी नेपाली भू-भाग भएकोमा दुईमत छैन । तर, कालापानीबारे भारतले भ्रम सिर्जना गर्दै आएको छ । आफ्नो भू-भाग भएको नक्कली दाबी गर्दै आएको छ । तर, हामीसंग भने कालापानी हाम्रो भएको थुप्रै ऐतिहासिक दस्तावेज एवं कागजात छन् । कर्क प्याट्रिक तथा ह्यामिल्टनद्वारा लिखित “एन एकाउन्ट अफ किङ्गडम अफ नेपाल”जस्ता ऐतिहासिक कृतिदेखि ब्रिटिस लाइब्रेरी (इन्डिया अफिस रेकर्डस् एन्ड कलेक्सन्स), नेसनल लाइब्रेरी अफ चाइना, लाइब्रेरी अफ कंग्रेस-वासिगंटन डीसी (जियोग्राफी एन्ट म्याप डिभिजन) मा प्राप्त सबै नक्सामा लिम्पियाधुरालाई महाकालीको उद्गमस्थल र नेपालको उत्तर-पश्चिमी सीमा उल्लेख छ । सन् १९०३ मा प्रकाशित प्राचीन चिनीयां एट्लस, सन् १९२१ को एशियाको नक्सा, सन् १९१० को ‘इन्डियन एम्पायर एयट सिलोन’ सबैमा नेपालको उत्तरपश्चिमी सीमाक्षेत्र लिम्पियाधुरा छ । त्यसैगरी चिनियां प्रधानमन्त्री चाउ एन लाईका पालामा अर्थात सन् १९६१ अक्टोबर ५ मा नेपाल-चीनबीच सम्पन्न सीमा सन्धिको दफा १ मा नेपाल, चीन र भारतको त्रिकोणात्मक बिन्दुका रूपमा लिम्पियाधुरा उल्लेख छ ।

१२ ब्यास र १४ चौदासका नामले चिनिने कालापानी नेपालको भू-भाग भएको अर्को दह्रो प्रमाणका रूपमा १२ ब्यास १४ चौदासका टिंकर र छाङ्रु गाउंलाई विसं. १८७४ (सन् १८१७) मा जारी सूचनाले यसरी पुष्टि गर्छ :

सम्वत् साल जेठ-असारमा कौशी तोषाखानामा भोटको कागज खोज्दा पायाको श्री कम्याएडर इन चिफबाट मुन्सिखानामा लैजानु भनी सर्दार हमाललाई मर्जि हुंदा निज सर्दारले ल्यायाको- हुकुमनामा वनामसे सीनं गल वुढे वगैरह जिमिदारन पर्गने ब्यास भोट जिल्लै कुमाउ के जानो आगे तिंकर छांगारु यह २ गांउ तुमारे पर्गने काली गाउंके उस तर्फ है. सो वमुजिम सुलोह नामै कै जिकौं इदा सलाह चारी कहते है. यह २ गाउं राजे नेपालको अमल्दारी भई उसतर्फ र रहे सा ७३ के वनोवस्त के वषत मिले वह तुम्कै समझाया या अब इन २ गाउंका तालुकका इस सरकार दौलत मादार कंपनि अङ्ग्रेज बहादुरकी हजुरका कुछ नहिं रहा इस वास्ते फेर हुकुम मुकरी तुम्हारे नाम लिखा जाता है कि मामला इन २ गाउंका पैसा चौतरा साहेव के पास हजार होकर सर्कार राजा नेपाल के मै देते कर्ते रहोगी. १८१७ ईस्वी नभम्वर कि २० तारिख सम्वत् १८७४ कार्तिक सुदी १२ ।  - योगी नरहरीनाथ, इतिहासप्रकाशमा सन्धिपत्र सङ्ग्रह (भाग १ )

तर भारत भने कालापानीमा उदांगिएको आफ्नो कालो अनुहार लुकाउन अनेकौ हथकन्डा मच्चाउंदै आएको छ । नेपालको लिम्पियाधुरादेखि कालापानीसम्मको ३७२ दशमलव ३७ वर्ग किलोमिटर भू-भागमा वर्षोंदेखि आफ्नो बलियो सैनिक उपस्थिति कायम गरेको छ । सबै छिमेकी मुलुकसंग थिचोमिचोमा विश्वास राख्ने कथित प्रजातन्त्रवादी भारतले कालापानीमा मात्र नभई नेपालका ६२ वटा बढी स्थानमा सीमा अतिक्रमण गरेको छ ।

दुःखको कुरा कालापानीमा रहेको भारतीय सैनिक बंकर हटाउने प्रयास न पञ्चायतकालमा भयो न त बहुदल-लोकतान्त्रिक सरकारको पालामै । उल्टो बहुदलकालमा मुहानको टुंगो नै नलगाई सन्धिका नाममा महाकाली भारतलाई बुझाइयो । उक्त राष्ट्रघाती सन्धिलाई २०५३ असोज ४ गतेको मध्यराति तत्कालीन संसद्ले पारित गर्‍यो । प्राविधिक आयु सकिएको शारदाको म्याद थप्दै, टनकपुर सम्झौतालाई वैधता दिन र भारतीय स्वार्थ गांसिएको पञ्चेश्वर आयोजनाका लागि उक्त सन्धिले ढोका खोल्यो । महाकाली सन्धिको धारा ३ मा उपभोग्य उपभोगका आधारमा महाकालीको पानीमाथि दुवै देशको समान हक कायम रहने भन्ने प्रावधानले शारदा र तल्लो शारदामार्फत भारतले प्रयोग गरिरहेको पानी कटाएर नेपालको भागमा मुस्किलले ३ प्रतिशत हिस्सा पर्ने गरी सिंगो महाकाली नदी भारतले हत्यायो भने महाकाली सन्धि नेपालका लागि गलत नजिर सिद्ध भयो ।

नेपाल-अंग्रेज युद्धपश्चात् विभिन्न छलकपटबीच सन् १८१६ मा सम्पन्न घोखाधडीपूर्ण सुगौली सन्धिलाई नै आधार मान्दा पनि महाकाली पूर्ण रूपमा नेपालको एकलौटी नदी हो । तर, सुगौली सन्धिपछिका दिनमा महाकाली नदीबाट प्राप्त सबैजसो लाभ भारतले एकलौटी रूपमा उपभोग गर्दै आएको आएको छ । सन् १९१० अघिको सलानीगोठ, १९२० को शारदा, १९९१ को टनकपुर १९९६ को  महाकाली  तथा २००९ मा पञ्चेश्वर सबै भारतको भित्री स्वार्थ गांसिएको सन्धि-सम्झौता र सहमतिले यसको पुष्टि गर्छ । महाकालीको पानी उपभोग सम्बन्धमा ब्रिटिस इन्डिया कम्पनी सरकारले सन् १८६९ तिरै शारदा नहरको परिकल्पना अघि सारेको घटनाले पनि महाकालीमा भारतीय स्वार्थ प्रस्ट हुन्छ । जहां सन् १९०१ मा लर्ड कर्जनद्वारा गठित सिंचाइ आयोगबाट पारित भई १९२० को पत्राचार सन्धिका आधारमा सन् १९२८ को डिसेम्बर ११ मा युनाइटेड प्रोभिन्स प्रमुख सर म्यालक हेलीद्वारा उद्घाटित शारदा नहरले हाल भारतको ७० लाख एकड जमिन सिंचित छ । त्यसैले कालापानीमाथिको भारतीय अतिक्रमण भनेको भारतीय आर्थिक क्रान्तिमा अहम् भूमिका निर्वाह गरिरहेको महाकाली नदी हत्याउने दीर्घकालीन षड्यन्त्रको एउटा पाटो हो ।

कालापानीमा भारतीय सेनाको उपस्थिति नेपाली अस्मितामाथिको बलात्कार भएकाले यसको दिगो उपचार नभएसम्म आमनेपाली जनतालाई कालापानीले घोचिरहनेछ । हाम्रो सार्वभौमिकता एवं राष्ट्रिय अखण्डतामामाथि प्रश्न उठाइरहनेछ । त्यसैले कालापानी समस्या समाधानार्थ सरकारले भारतसंग ठोस कदम चाल्नु जरुरी छ । सन् १९५० को कथित शान्ति तथा मैत्री सन्धिदेखि असमान कोसी, गण्डक, महाकाली सन्धिको पुनरावलोकन एवं खारेजी, ६२ बढी स्थानमा भारतद्वारा भइरहेको सीमा अतिक्रमण रोक्न तथा पञ्चेश्वर, पश्चिम सेती, नौमुरे, माथिल्लो कर्णाली, अरुण ३ आदि सम्झौताहरुमा भएका गल्तीलाई सच्चाउन सरकार तथा जिम्मेवार राजनीतिक दल चुक्नुहुन्न । यी समस्याबारे भारतसंग कूटनीतिक पहल असफल भए अन्तर्राष्ट्रिय अदालतको ढोका ढक्ढक्याउनुको विकल्प रहन्न । होइन भने एकातिर राष्ट्रघाती महाकाली सन्धि भन्ने अर्कोतिर त्यसैमा टेकेर पञ्चेश्वर अगाडि बढाउने सरकारी निर्णयमा मौनता सांध्ने हो भने सबै राजनीतिक दललाई नेपाली जनताले लोप्पामात्र खुवाउने छैनन्, दलहरू आफैंले आफूलाई इतिहासको पानामा खोज्नुपर्नेछ ।

Wednesday, January 9, 2013

नेपाल–भारत सम्बन्धमा खुल्ला सीमाको मार

 -- युवराज पाण्डे, पूर्वसचिव–नेपाल सरकार

नेपालको सीमाना तीनतिर भारतसँग र एकतिर चीनको तिब्बत स्वशासित प्रदेशसँग जोडिएको छ। सीमाना जोडिएका मुलुकमा एउटा मुलुकमा केन्द्र बनाएर अर्को मुलुकमा अपराधिक क्रियाकलापको सञ्चालन गर्ने संभावना रहन्छ। त्यसैले सीमा जोडिएका मुलुकहरूले सीमानामा रहेको अर्को मुलुकबाट आफ्नो सुरक्षा व्यवस्थामा आघात पुग्ने हो कि भनेर पनि ध्यान दिएका हुन्छन्। नेपालका दुईवटा छिमेकीले पनि नेपालको भूभागबाट आआफ्नो मुलुकको सुरक्षा व्यवस्थामा आघात नपुगोस् भन्ने चाहना राखेको पाइन्छ। छिमेकी मित्र भारतले समय समयमा नेपालका अन्य मित्र राष्ट्रहरूका विरोधी गतिविधिको सञ्चालन गरेको आशंका प्रकट गर्दै आएको कुरा बेलाबखतमा सञ्चार माध्यमबाट सार्वजनिक भएको पाइन्छ। अर्को मित्रराष्ट्र चीनले पनि तिब्बतमा अशान्ति उत्पन्न गर्नका निम्ति नेपालको भूभागको प्रयोग हुन नसक्ने अवस्था नेपाल सरकारले बनाउनुपर्छ भन्ने चाहना प्रकट गरेको पाइन्छ। नेपालले पनि आफ्ना छिमेकी मुलुकको भूभाग नेपालको राष्ट्रिय हितमा आघात पुर्याचउनका निम्ति प्रयोग नहोस् भन्ने चाहना राख्ने कुरालाई स्वभाविक रुपमा लिनुपर्छ।  
 नेपालको छिमेकी राष्ट्रसंग खुला सीमाना रहेको हुनाले अपराधीहरूले नेपालमा अपराध गरेर भारतमा गई आश्रय लिने र भारतमा अपराध गरेर नेपालमा आई लुक्ने संभावना रहेको कुरालाई अस्वीकार गर्न गाह्रो पर्दछ। नेपालको दक्षिणी सीमावर्ती तराई क्षेत्रमा अपराधिक क्रियाकलापमा संलग्न रहेका कतिपय व्यक्ति र समूहहरूले भारतमा गएर लुक्ने या योजना बनाउने गरेको कुरा कतिपय सुरक्षा विशेषज्ञहरूले पनि बताउदै आएका छन्। त्यसैले, भारत र चीनसँगको सीमाको प्रभावकारी ढंगले अनुगमन गरी एक अर्को मुलुकबाट एक अर्को मुलुकमा अपराधिक गतिविधि हुन नसक्ने अवस्था सिर्जना गर्नको निम्ति नेपालले चीन र भारतसँग सहकार्य गर्नुपर्छ र आवश्यकताअनुसार भारत र चीनको सहयोग प्राप्त गर्ने प्रयास गर्नुपर्छ भन्ने कुरामा विशेषज्ञहरूले जोड दिंदै आएको पाइन्छ। नेपालको वैदेशिक व्यापारको ठूलो हिस्सा भारत र चीनसँगको व्यापारले ओगटेको पाइन्छ। त्यसमा पनि नेपालको संसारका अरु सवै मुलुकसँगको कुल व्यापारभन्दा नेपालको छिमेकी राष्ट्र भारतसँगको व्यापार धेरै गुणा बढी रहेको पाइन्छ। नेपालको भारत र चीनसँगको व्यापारमा नेपालले ठूलो घाटा पनि व्यहोर्दै आएको पाइन्छ। भारतसँग बढी व्यापार हुने भएकाले भारतसँगको व्यापार घाटा तुलनात्मक रुपले गम्भीर रहेको कुरा पनि स्पष्ट नै छ। भारतसँग खुलासीमाना रहेको र खुला व्यापारिक नाकाहरू वाहेकका अरु सीमावर्ती ठाउँमा पनि पर्खाल वा तारबार जस्ता कुनै पनि छेकवार नभएका हुनाले भारतसँग कुनै अवैध व्यापारको परिणाम पनि निकै ठूलो छ र त्यसबाट नेपालको अर्थतन्त्रमा गम्भीर असर पर्दै आएको छ भन्ने कुरा पनि अध्येता र अनुसन्धानहरूले बताउदै आएका छन्।  
भारतबाट आयात हुने धेरै बस्तुहरू सीमावर्ती खुला नाका छलेर अरु ठाउँबाट तस्करी गरेर नेपालमा ल्याउने काम कतिपय तस्करहरूले गरिरहेका छन् भन्ने कुरा पनि कतिपय तथ्य प्रमाणहरूले स्पष्ट पारेको पाइन्छ। भारतबाट उपभोग्य बस्तु र तयारी मालसामानको नेपालमा तस्करी हुँदा वर्षेनी नेपाललाई अवर्ौं रुपैयाँ बराबरको राजश्वमा घाटा हुदै आएको कुरा पनि उत्तिकै स्पष्ट छ। रक्त चन्दन जस्ता प्रतिबन्धित बस्तुहरूको तस्करीका निम्ति पनि तस्करहरूले नेपाल र भारतको बीचमा रहेको खुला सीमानको प्रयोग गर्दै आएको पाइन्छ। नेपालबाट पनि कतिपय जडिबुटी आदि बस्तुको अवैध ढंगले भारतमा तस्करी हुन्छ भन्ने कुरा पनि बेला बखतमा त्यस्ता मालसामानहरू सीमावर्ती क्षेत्रमा वरामद हुने गरेका घटनाहरूले नै स्पष्ट पार्छन्। त्यसैले नेपालको भारतसँगको सीमानाको समुचित व्यवस्थापन र नियमन दुवै मुलुकको हितमा रहेको देखिन्छ।  
नेपाल र भारत सरकारले नेपाल र भारतको सीमावर्ती क्षेत्रमा रहेका दुइदर्जन बढी स्थानहरूलाई व्यापार एवं पारवहन नाकाको रुपमा स्वीकार गरेको देखिन्छ। नेपालमा नून, तेल, लत्ता कपडा र मेसिनरी पार्टपूर्जाहरू जस्ता अत्यावश्यक वस्तुहरूको आयात गर्नका निम्ति र नेपालबाट भारतमा निकासी हुने वस्तुको निकासी गर्नका निम्ति यी नाकाहरूको प्रयोग हुने भएकोले यी नाकाहरू नेपालको अर्थतन्त्रको निम्ति समेत अत्यन्त उपयोगी रहेको कुरामा शंका छैन। एक अर्का मुलुकका मानिसहरू एक अर्को मुलुकमा आउन जानका निम्ति पनि यी नाकाहरूको प्रयोग हुन्छ। यी नाकाहरूमा दुवै मुलुकका भन्सार र सुरक्षा निकायका इकाइहरू समेत रहेको हुनाले यी नाकाहरूबाट अवैध व्यापार हुन नसकोस् र एक मुलुकबाट अर्को मुलुकमा अवैध हातहतियार र विस्फोटक सामग्री लिएर अपराधीहरू आउन, जान नसकुन् भन्ने कुरामा दुवै मुलुकहरू केही हदसम्म सजग रहँदै आएको पनि पाइन्छ। तर पनि बेलाबखतमा नेपालमा भारतीय भूभागबाट अवैध रुपले ल्याइदै गरेका हातहतियार र गोलावारुद्ध जस्ता विस्फोटक र विध्वंशक वस्तुहरू र मसीनरी पार्टपूर्जा तथा अन्य सामग्रीहरू सीमावर्ती क्षेत्रमा वरामद भएका घटनाहरू सार्वजनिक हुदै आएको घटनाले सीमावर्ती क्षेत्रबाट अर्को मुलुकमा अवैध ढंगले मालसामानको ओसारपसार वा तस्करी हुने गरेको देखिन आउछ। त्यसैले सीमावर्ती क्षेत्रमा हुने तस्करीको नियन्त्रण र अपराधिक क्रियाकलापको सञ्चालनका गर्नका निम्ति सीमावर्ती क्षेत्रको उपयोग हुन नदिनका निम्ति दुवै मुलुकले थप उपायको अवलम्बन गर्न आवश्यक देखिन्छ।  
यसका लागि दुई मुलुकको बीचमा भएको सम्झौताअनुसार आवागमन र पारवहनको निम्ति छनौट वा पहिचान गरिएका नाकाहरूलाई खुला राखी बाँकी रहेको सीमा क्षेत्रलाई तार वारले छेक्ने उपाय सीमा क्षेत्रको व्यवस्थापन प्रभावकारी बनाउनको निम्ति अत्यन्त प्रभावकारी हुन सक्ने कुरा कतिपय अध्ययन र विश्लेषणहरूले स्पष्ट पारेका छन्। व्यापारिक नाकाहरू खुला राखेर अरु ठाउँमा तारवार लगाउदा एक मुलुकबाट अर्को मुलुकमा हातहतियार र विस्फोटक पदार्थको तस्करी हुने संभावना कम भएर जाने कुरा स्पष्ट छ। त्यसैगरी एक मुलुकबाट अर्को मुलुकमा तयारी र अन्य मालसामानको ओसार पसार वा तस्करी हुने संभावना समेत घट्ने भएकोले नेपाल र भारतको बीचमा हुने व्यापारको आयातन यथार्थमा कति छ भन्ने कुराको पहिचान गर्न समेत संभव हुन्छ। अवैध व्यापारको नियन्त्रणले नेपालको राजश्व आयमा पनि सो अनुरुपको वृद्धि हुने कुरा स्पष्ट छ। अपराधिक व्यक्ति र समूहले नेपालको भूभाग भारतीय हितको विरुद्धमा प्रयोग गर्ने संभावना पनि कम हुने कुरा पनि उत्तिकै स्पष्ट छ। त्यसैले, नेपाल र भारतको बीचको खुला सीमानामा रहेका दुवै मुलुकको बीचमा भएको सम्झौताअनुसार पहिचान गरिएका आवागमन एवं व्यापारिक नाकाहरू वाहेकको नेपाल र भारतको सीमानामा तारवार लगाउने काम भारत र नेपाल दुवैको हितमा रहेको हुनाले त्यसका निम्ति तत्काल पहल गर्नुपर्छ।