Wednesday, March 24, 2010

'कुनै हालतमा हिन्दु राष्ट्र कायम गर्छु'


काठमाडौं, चैत्र ११ - उपप्रधानमन्त्री विजयकुमार गच्छदारले कुनै पनि हालतमा हिन्दु राष्ट्र कायम गरेरै छाड्ने बताएका छन् । अन्तिरम संविधानबाटै धर्मनिरपेक्ष राष्ट्र घोषणा भइसकेको अवस्थामा सरकारका बरिष्ठ मन्त्रीको यस्तो अभिव्यक्ति आएको हो ।
'म पनि हिन्दु हुँ,' विश्व हिन्दु महासंघको स्थापना दिवसको अवसरमा बुधवार राजधानीको बाँसबारीमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री गच्छदारले भने, 'हिन्दु राष्ट्र बनाउन म सवै नेताहरुको ध्यानाकर्षण गराउनेछु ।'
अब बन्ने संविधानमै हिन्दु राष्ट्र कायम गर्ने र संविधानबाट हिन्दुहरुको पहिचानलाई मेट्न नदिने उनको भनाइ थियो । हिन्दुहरुको अस्तित्वलाई कायम राख्न सरकार भित्रै बाट संघर्ष गर्ने उपप्रधानमन्त्री गच्छदारको भनाइ थियो ।
राष्ट्रको अखण्डतालाई अछुण राख्न हिन्दु राष्ट्रको विकल्प नभएको भन्दै उपप्रधानमन्त्री गच्छदारले सबै नेपालीहरुलाई एक सुत्रमा बाँध्न हिन्दु राष्ट्र नै चाहिनेमा जोड दिए ।  कार्यक्रममा उपप्रधानमन्त्री गच्छदारले विश्व हिन्दु महासंघको मानर्थ सदस्यता समेत लिएका छन् ।

No comments:

Post a Comment