Wednesday, March 24, 2010

दलहरुले बाँडिचुडी खाए जिविसको बजेट

रौतहट, ११ चैत । राजनैतिक दलहरुको मिलेमतोमा रौतहट जिल्ला विकास समितीको विकास वजेटको चरम दुरुपयोग भएको छ । रौतहटका सरकारमा सहभागी सबै दलहरुले जिल्लाको विकासका योजना भागवण्डा गर्दै आएको स्थानिय वासिन्दाले आरोप लगाएका छन् । रौतहटको जिल्ला विकास समितीमा २२ दलका प्रतिनिधीहरु सहभागी हुने गरेका छन् । जसमध्ये कांग्रेस, एमाले, फोरम र तमलोपालगायतका साना दलहरु रहेका छन् ।



स्थानिय सरकार नहुँदा अहिले स्थानिय विकास अधिकारीको संयोजकत्वमा सर्वदलिय संयन्त्रले काम गर्दै आएको भएपनि दलहरुको मिलेमतोमा योजना वाँडफाँड हुने गरेको खुल्न आएको छ । नेपाल देशभक्त संघका अध्यक्ष अशोक कुमार राजपुतले दलहरुले उपभोक्ता समितीको नाममा जनताको खुन पसिनावाट जम्मा भएको राजस्वको चरम दुरुपयोग भएको आरोप लगाए ।



उनले राजनैतिक दलहरुको कारण कार्यालय प्रमुख समेत व्यक्तिमुखि भएको बताए । रौतहटमा सवै राजनैतिक दलहरुले विकास निर्माणका काम आफु नजिकका ठेकेदारलाई र आफ्ना भातृ संगठनलाई बाढ्ने गरेको र त्यसवाट निश्चीत प्रतिशत रकम लिने गरेका छन् । स्थानिय वासिन्दा शन्नी खानले दलहरुका प्रतिनीधीलाई ठेकेदारले किनेकोे  बताए । उनले उपभोक्ता समिती मार्फत भएका काम कुनै पनि गुणस्तरीय नभएको र समयमै सम्पन्न नभएको दावि समेत गरे । 



रौतहटका साना र ठुला दलहरुले विकासका योजनामा दलहरुको हैसियत अनुसार बजेट बाँडचुड गर्दै आइरहेका छन् । नागरिक समाज रौतहटका अध्यक्ष जगन्नाथ प्रसाद केहरिले दलहरुले बजेटको भागवण्डा गरेर अरुलाई विक्री गर्ने काम गरीरहेको दावि गरे । उनले भागवण्डाको राजनीतिले राज्यकोषको चरम दुरुपयोग भएको आरोप समेत लगाए । एमाले निकट युवा संघका रौतहट सचिव शिवशंकर प्रसाद गुप्ताले आफुले काम गरेवाफत खाने गरेको स्वीकार गरे । उनले जिल्ला विकासवाट आफुले पनि ठेक्का लिएर काम गरीरहेको र १० प्रतिशत काम गरे वाफत खाने गरेको बताए ।



रौतहटका माओवादी सह-इञ्चार्ज उमेश यादवले आफ्नो पार्टीले जिविसको बजेटको दुरुपयोग नगरेको दाबी गरे । उनले संक्रमणकाल भएको र तराईमा सुरक्षाको स्थिती नाजुक भएकाले केही पार्टीले कर्मचारीलाई दवाव दिएर ठेक्का लिने गरेको बताए । स्रोतका अनुसार दलहरुका नेताहरुले भनेजस्तो काम नगर्ने हो भने रौतहटमा कर्मचारीमाथी दुर्व्यवहार हुने गर्छ ।



स्थानिय वासिन्दाले दलहरुले राज्यकोषको दुरुपयोग गरेको आरोप लगाइरहेकै वेला रौतहटका स्थानिय विकास अधिकारी विष्णु लामिछानेले माथि सत्तामा बाँडफाँट भएकाले स्थानिय स्तरमा योजना बाँडफाँट हुनु स्वभाविक भएको खुलासा गरे । उनले सवै राजनैतिक दलका नेताहरुले आफ्नो क्षेत्रमा वजेट विनीयोजन गर्न दवाव दिने गरेको गुनासो समेत व्यक्त गरे ।

नेपाली भूमिमा भारतको सडक


झापा १० चैत
पश्चिमी झापाको खजुरगाछीमा भारतले नेपाली भूमि मिचेर सडक निर्माण गरेको छ । खजुरगाछी- १ को फत्तेपुरबाट खनियाँबाँधसम्मको दसगजा क्षेत्रमा भारतले करिब सात सय मिटर सडक निर्माण गरिसकेको छ । भारतले दसगजाको दुई किलोमिटर क्षेत्रमा एक सातादेखि सडक निर्माण गर्न थालेको हो 
सीमासम्बन्धी अन्तर्राष्ट्रिय नियमअनुसार दुई देशको सीमारेखाको दुवैपट्टी नौ मिटर भूभागमा बसोबास र भौतिक पूर्वाधार निर्माण गर्न पाइँदैन । तर, भारतीय पक्षले ३४ र ३५ नम्बर सीमास्तम्भको सात सय मिटर क्षेत्रमा बाटो बनाइसकेको सीमासुरक्षा बेस क्याम्प खजुरगाछीले जनाएको छ । सडक १२ फिट चौडाइँको छ 
'सरकारकै निर्देशनअनुरूप बाटो बनाएको भन्ने जवाफ भारतीय सुरक्षाकर्मीले दिएका छन्,' बेसक्याम्पका प्रहरी निरीक्षक श्याम राउतले भने, 'पटकपटक सडक निर्माण कार्य रोक्न निर्देशन दिँदासमेत भारतीय पक्षले टेरेको छैन ।' पाँच दिनअघि मात्र झापाका प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोलीले सीमाक्षेत्रको निरीक्षण गरी सडक निर्माण कार्य रोक्न निर्देशन दिएको थियो 
नेपाली टोलीसँगको छलफलमा भारतीय अर्धसैनिक बल एसएसबीका एस आई समीर दासले उच्चतहमा सहमति गरेर मात्र सडक निर्माणलाई निरन्तरता दिने सहमति जनाएका थिए । तर, सो सहमतिविपरीत भारतीय पक्षले सडक निर्माण कार्य जारी राखेको छ । भारतीय पक्षले सडकमा ग्राभेलिङ गर्न थालेको खबर पाएपछि त्यसबारे बुझ्न गएका जनपद र सशस्त्रका दुई प्रहरीले भागेर ज्यान जोगाएका छन् 
यसअघि भएको सहमतिविपरीत भारतीय पक्षले सडक निर्माण कार्यलाई निरन्तरता दिएपछि नेपाली सुरक्षाकर्मी त्यसबारे बुझ्न गएका थिए । सडक ग्राभेलिङ भइरहेको पाइएपछि त्यसलाई रोक्न खोज्दा भारतीय पक्षले उनीहरूमाथि आक्रमण गरेको इलाका प्रहरी कार्यालय गौरीगञ्जले जनाएको छ । उनीहरूले प्रयोग गरेको एउटा मोटरसाइकल भारतीय पक्षले नियन्त्रणमा लिएको छ । सीमासुरक्षा बेस क्याम्प खजुरगाछीका सशस्त्र प्रहरी निरीक्षक श्याम राउतले नेपाली सुरक्षाकर्मीलाई भारतीय पक्षले कुटपिट गरी मोटरसाइकल नियन्त्रणमा लिएको बताए । उनले नेपाली सुरक्षाकर्मीले प्रयोग गरेको मे१प ८३११ नम्बरको मोटरसाइकल भारतीय पक्षले नियन्त्रणमा लिएको जानकारी दिए । प्रहरीले कुटाइ खानेहरूको नाम भने सार्वजनिक गरेको छैन      
भारतीय पक्षले भने सडक निर्माण गर्न प्रयोग गरिएको ट्रयाक्टरका चालकलाई नेपालका प्रहरीले बाँधेर कुटपिट गरेकाले आफूहरूले त्यसको प्रतिकार गरेको दाबी गर्दै आएको छ । प्रहरीको कुटपिटबाट ट्रयाक्टरचालक बेहोस भएपछि नियन्त्रणमा लिन खोज्दा ती प्रहरी भागेको एक भारतीयले बताए । बाटो निर्माण कार्य रोक्न र मोटरसाइकल फिर्ता गर्ने विषयमा मंगलबार भएको छलफलमा भारतीय पक्षले चालकको साथबाट हराएको १० हजार भारतीय रुपैयाँ र एउटा मोबाइलवापतको पैसा नदिएसम्म मोटरसाइकल फिर्ता नदिने अडान राखेको छ 

जिशिअलाई कालोमोसो दलेकोमा बिरोध

स्याङ्जा, चैत्र ११ - नेपाल विद्यार्थी संघले जिल्ला शिक्षा अधिकारी दुर्गा प्रसाद श्रेष्ठलाई कालोमोसो दलेको विरोधमा  विभिन्न संघसंस्थाले विरोध जनाएका छन् ।

जिल्ला शिक्षा कार्यालय , नेपाल राष्ट्रिय शिक्षक संगठन, पेशागत महासंघ नेपाल, नेपाल निजामती कर्मचारी संगठन, नेपाल राष्टिय कर्मचारी संगठन, नेपाल बुद्धिजीवी परिषद, प्याब्सन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, त्रिभुवन आर्दश बहुमुखी क्याम्पस, वालिङ बहुमुखी क्याम्पस, गल्याण बहुमुखी क्याम्पस, फेदिखोला बहुमुखी क्याम्पस, मिर्मी बहुमुखी क्याम्पसका स्ववियुले विज्ञप्ती जारी गरी जिशिअ श्रेष्ठलाई गरेको दुव्र्यवहारले स्तव्ध बनाएको भन्दै दोषीलाई कारबाहिको माग गरेका छन् । नेपाल राष्ट्रिय शिक्षक संगठनले आज ४ बजेसम्म दोषिलाई कारबाहि नभए भोली १२ गतेबाट सुरु हुने प्रवेशिका परीक्षामा आफ्नो सहभागिता नहुने बताएको छ ।

गत ८ गते काग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको निधनको शोक मनाउन दिइएको विदामा परीक्षा संचालन गरेको भन्दै नेविसंघले १० गते जिशिअलाई कार्यकक्षमा नै गई कालोमोसो दलेका थिए । जिशिअ श्रेष्ठले भने बोर्डको सहमतिमा आफूले परीक्षा संञ्चालन गरेको जनाएका छन् । यस घटनाले जिल्ला तनावमय भएको छ । तनावले भोलिबाट सुरु हुने प्रवेसिका परीक्षा समेत प्रभावित हुने देखिएको छ ।

गिरिजाको शोकसभामा परिक्षा संचालन गरेको भन्दै जिशिअलाई कालोमोसो

स्याङ्जा, १० चैत । राजाहरुको निधनमा प्रशासनले जबरजस्ती रुपमा कपाल काट्न लगाउने चलन झैं नेपाली काँग्रेसका कार्यकर्ताले पनि पुर्वप्रधानमन्त्री तथा नेपाली कांगे्रसका सभापति गिरीजाप्रसाद कोइरालाको निधनमा राष्ट्रिय शोक मनाउन दिइएको विदाको दिनमा परिक्षा सञ्चालन गरेको भन्दै जिल्ला शिक्षा अधिकारीलाई कालोमोसो दलेका छन् ।



उनीहरुले स्याङ्जामा जिल्ला शिक्षा अधिकारीलाई कालोमोसो लगाइएको छ । राष्ट्रिय शोक विदाको दिन वाषिर्क तथा जिल्लास्तरीय परीक्षा संचालन गर्न निर्देशन दिएको भन्दै नेपाल विद्यार्थी संघ समर्थित विद्यार्थीहरुले आज जिल्ला शिक्षा अधिकारी दुर्गाप्रसाद श्रेष्ठलाई कालोमोसो दलेका हुन् । 



नेपाल विद्यार्थी साघले उक्त दिनमा परीक्षा स्थगित गर्न जिशिअसँग अनुरोध गरेको थियो । नेपाल विद्यार्थीर् संघ स्याङ्जाका सभापति गुरुप्रसाद भट्टराईको नेतृत्वमा गएको विद्यार्थीहरुको एक समुहले ७४ जिल्लाका परीक्षा स्थगित हुँदा स्याङ्जामा परीक्षा सञ्चालन गरेको भन्दै जिल्ला शिक्षा अधिकारीलाई कालोमोसो दलेको नेविसंघले बताएको छ ।



उता जिल्ला शिक्षा अधिकारीले भने सो दिन परीक्षा स्थगित गरिएको व्यहोरा परिक्षा समितिको बैठकबाट अनुमोदन गरिएको बताउनुभयो । उहाँले केही विद्यार्थीहरु कार्यकक्षमै गई अभद्र व्यवहार गर्दै कालोमोसो दलेको स्वीकार गर्नुभयो । सो दिन जिल्लाका अधिकांश विद्यालयमा परीक्षा सञ्चालन भएको थियो भने केही विद्यालयमा परीक्षा स्थगित भएको थियो ।

'कुनै हालतमा हिन्दु राष्ट्र कायम गर्छु'


काठमाडौं, चैत्र ११ - उपप्रधानमन्त्री विजयकुमार गच्छदारले कुनै पनि हालतमा हिन्दु राष्ट्र कायम गरेरै छाड्ने बताएका छन् । अन्तिरम संविधानबाटै धर्मनिरपेक्ष राष्ट्र घोषणा भइसकेको अवस्थामा सरकारका बरिष्ठ मन्त्रीको यस्तो अभिव्यक्ति आएको हो ।
'म पनि हिन्दु हुँ,' विश्व हिन्दु महासंघको स्थापना दिवसको अवसरमा बुधवार राजधानीको बाँसबारीमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री गच्छदारले भने, 'हिन्दु राष्ट्र बनाउन म सवै नेताहरुको ध्यानाकर्षण गराउनेछु ।'
अब बन्ने संविधानमै हिन्दु राष्ट्र कायम गर्ने र संविधानबाट हिन्दुहरुको पहिचानलाई मेट्न नदिने उनको भनाइ थियो । हिन्दुहरुको अस्तित्वलाई कायम राख्न सरकार भित्रै बाट संघर्ष गर्ने उपप्रधानमन्त्री गच्छदारको भनाइ थियो ।
राष्ट्रको अखण्डतालाई अछुण राख्न हिन्दु राष्ट्रको विकल्प नभएको भन्दै उपप्रधानमन्त्री गच्छदारले सबै नेपालीहरुलाई एक सुत्रमा बाँध्न हिन्दु राष्ट्र नै चाहिनेमा जोड दिए ।  कार्यक्रममा उपप्रधानमन्त्री गच्छदारले विश्व हिन्दु महासंघको मानर्थ सदस्यता समेत लिएका छन् ।

कांग्रेस र एमाले संविधान जारी गर्न चाहँदैनन् : यादव

वीरगन्ज, चैत ११- मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले कसैगरी पनि तोकिएकै समयमा संविधान जारी गर्नुपर्ने बताएका छन्।
संविधान निर्माण कार्यमा अवरोध पुर्‍याउन विभिन्न शक्ति लागिपरेको बताउँदै उनले जनताले प्राप्त गरेको उपलब्धिलाई व्यवस्थित गर्नका लागि  जेठ १४ गते नै संविधान जारी हुनुपर्ने बताए।

'दलबीच यस्तै खिचातानी रहे जेठ १४ गते संविधान बन्ने अवस्था  छैन', वीरगन्जको तेजारथ टोलमा बुधबार पार्टी कार्यालय उदघाटन गर्दै  यादवले भने-  संविधान चाहने आम नागरिकले समयमै संविधान जारी गराउन दलहरुलाई बाध्य गराउनुपर्छ।' समयमै संविधान जारी गर्ने नसके मुलुक अन्यौल र अराजकतातर्फ उन्मुख हुने उनले सुनाए। 

वर्तमान सरकार अहिलेसम्मकै असफल सरकार रहेको दाबी गर्दै  अध्यक्ष यादवले शान्ति, सुरक्षा र आर्थिक सुरक्षा दिन नसकेकाले यसको हैसियत समाप्त भएको बताए। कङ्ग्रेस र एमालेले  संविधान जारी गर्न नचाहेको उनको आरोप छ। राज्य पुनर्संरचना समितिले जारी गरेका १४ प्रदेशको अवधारणा न्यायसङ्गत नरहेको बताउँदै यादवले मधेश हकहितका लागि आन्दोलनमा उत्रने बताए।

सङ्गठन निर्माण र आन्दोलनको तयारीमा आफ्नो पार्टी जुटेको बताउँदै उनले मधेशी दलसँग भएको सम्झौता लागू गराउन चैत २६ र २७ गते मधेश बन्द आह्वान गरेको जानकारी पनि उनले दिए।

एसएलसी आजदेखि


काठमाडौ, चैत्र १२ - देशभर बिहीबार बिहान ८ बजेदेखि एसएलसी परीक्षा हुँदैछ । परीक्षामा नियमित र एक्जाम्टेड गरी ४ लाख ५६ हजार ७ सय १९ परीक्षार्थी सहभागी हुनेछन् । त्यसनिम्ति १५ सय ४८ परीक्षा केन्द्र तोकिएको छ ।
नियमिततर्फ ४ लाख १२ हजार ५ सय ९२ जनामध्ये १ लाख ९३ हजार ४९ छात्रा छन् । एक्जाम्टेडतर्फ ४४ हजार १ सय २७ छन् । तीमध्ये २५ हजार १ सय ७६ छात्रा छन् । यस वर्षको परीक्षार्थी संख्या गत वर्षभन्दा ४५ हजार बढी हो ।
विगतभन्दा परीक्षा मर्यादित तुल्याउन कडाइ गरिने उल्लेख गर्दै शिक्षा मन्त्रालयले सचिवको संयोजकत्वमा सबै अञ्चलमा अनुगमन समिति गठन गरेको छ । हरेक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा परीक्षा समिति र हरेक केन्द्रमा सर्वपक्षीय अनुगमन समिति गठन गरिएको जनाइएको छ ।
परीक्षार्थीले मोबाइल, चिट, गाइड, गेसपेपरजस्ता कुनै पनि सामान प्रयोग गर्न पाउने छैनन् । अनियमितता गर्नेलाई कडा कारबाही गर्ने परीक्षा नियन्त्रक चित्रप्रसाद देवकोटाले बताए । अपांगता भएका विद्यार्थीले प्रमाणका आधारमा लेखक राख्न र बढीमा १ घन्टा थप समय पाउनेछन् ।
एसएलसीमा सबैभन्दा बढी काठमाडौंबाट ३२ हजार ३ सय ५० विद्यार्थी सहभागी हुनेछन् । यसैगरी सबैभन्दा कम मनाङबाट ९१ परीक्षार्थीले जाँच दिनेछन् ।
अभिभावक संघले परीक्षाका लागि शान्त र भयरहित वातावरण बनाउन र चैत २० सम्म देशभर बन्द, हडताल नगर्न आग्रह गरेको छ । राष्ट्रिय मानव अधिकार आयोगले एसएलसी परीक्षा अनुगमन गर्ने जनाएको छ ।

गद्दीच्युतको तीन वर्षपछि ज्ञानेन्द्रले भने- राजतन्त्र समाप्त भएको छैन



काठमाडौं, चैत्र ११ - पूर्व राजा ज्ञानेन्द्र शाहले राजसंस्था समाप्तीको कुरा 'काल्पनिक' मात्र भएको टिप्पणी गरेका छन् । 'यो 'हाइपोथेटिकल' कुरा हो, राजसंस्था होस् वा राष्ट्रिय सवालमा जनताको विचार नै महत्वपूर्ण हुन्छ,' बुधबार एभिन्यूज टेलिभिजनसँग कुरा गर्दै उनले भने, 'जनता जनार्दन नै हुन्छन् ।'
एभिन्यूज टेलिभिजनसँगको अन्तर्वार्तामा उनले राजसंस्था बिदाइ गर्ने निर्णयमा पुर्नविचार गर्नुपर्ने बताए । 'जनताले यही चाहन्छन्, यही (राजसंस्था हटाउनु) ठीक छ, यही बाटो नै हिड्नुपर्छ भन्ने हो भने ठिकै छ,' 'उहाँहरु (जनता) लाई कहिँ न कहिँ चित्त बुझेको छैन भने जसले शासन गरेका छन्, जनताको कुरालाई नै मान्यता दिनुपर्छ ।'
पूर्व राजाले राजसंस्था ब्युँताउन पर्दा पछाडी आफूले कुनै पनि भूमिका नखेलेको दाबी गरे । 'यसो भए धेरै अगाडी, धेरै कुरा गरिसक्ने थिएँ, त्यो न चाहना छ न नियतनै,' उनले प्रष्ट्याए, 'देशमा शान्ति होस् भनेर नै छाडेको हो, जनताले यो बुझिरहेका छन् मैले जति बुझेको छु, त्यो मैले राखेको छु ।'
ज्ञानेन्द्रले नेपालको इतिहासमा राजाहरुले कहिल्यै पनि शक्ति हातमा लिन नखोजेको जिकिर गरे ।  'यो भ्रम मेटाउनु पर्छ, राजाले कहिल्यै शक्ति खोजेनन् राजाले देउता भनेर बोलेका पनि छैनन्,' उनले थपे, 'यो जनताको विश्वासले भएको हो ।' पूर्व राजाले आफ्नो बहिर्गमनपछि पनि जनतामाझ जान अप्ठेरो नभएको बताए । बुधबार जनकपुर आउँदा जनताले दर्शाएको सदभावप्रति आफू खुशी भएको उनको भनाइ थियो ।
रामनवमीको अवसरमा जनकपुरको रामजानकी मन्दिरमा पूजा गर्न पूर्व राजा बुधबार बिहान बुद्ध एयरबाट जनकपुर गएका थिए । जनकपुरमा राजावादीहरुले उनको पक्षमा नाराबाजी गरेपछि उनले मन्द मुस्कानका साथ अभिवादन फर्काएका थिए ।
नेपालबाट राजसंस्थाको अन्त्य गरेर जनताले आफूलाई पनि सन्देश दिएको पूर्व राजाको भनाइ छ । 'यो एउटा पाठ हो, जनताले हामीलाई पनि सन्देश दिएका हुन्,' उनले भने, 'राजाहरु सक्रिय नभएको जनताले खोजेको हो कि ।' उनले राजाले भनेको अभिभावकको रुपमा सवै काम गर्नुपर्ने बताए । 'देशका लागि जे गर्नुपर्छ त्यो समयमा उठाउनै पर्छ,' पूर्व राजाको कथन थियो, 'सर्वसाधारणको सुरक्षा र रक्षा गर्ने अवस्था पनि आउँछ ।'
पूर्व राजाले दरबार हत्याकाण्ड र माघ १९ को कदमले राजसंस्थालाई अप्ठेरो पारेको पनि स्वीकार गरे । 'सर्वप्रथम त म (दरबार हत्याकाण्ड भएका बेला) काठमाडौंमा थिइनँ, जति हाम्रा परिवार छन् त्यो दुर्घटनामा बाँचेर आएका उहाहरुको उहाँहरुले भनेको कुरा सुन्दादेखि तथ्य सथ्य अर्के जस्तो लाग्छ, जून बाहिर आएको पनि हो,' उनले भने, 'राजसंस्थालाई केही न केही रुपमा माघ १९ ले पनि अप्ठेरो पारेकै हो ।'      
पूर्व राजाले जंगलमा बस्दा शान्त भए पनि देशको बारेमा चिन्ता लागिरहेको बताए । 'जंगलमा बस्दा फाइदा पनि हुन्छ, शान्त पनि छ, तर अलि चिन्ता चाँही छ राष्ट्र र सर्वसाधारणको,' उनले भने । ज्ञानेन्द्रले आफ्नो नेपाल छाड्ने योजना नरहेको सुनाए । 'नेपालमै बस्छु नेपालको सेवा गर्ने, नेपालीको सेवा गर्ने नै योजना छ, पहिलो पनि त्यही थियो अहिले पनि त्यही छ,' उनले भने ।
अन्तर्वार्ताको पूर्णअंश:
राजतन्त्र समाप्त भयो भन्नु काल्पनिक कुरा मात्रः पूर्वराजा ज्ञानेन्द्र
अहिले देश जुन मोडबाट गुजि्ररहेको छ, यतिखेर के महसुस गरिरहनु भएको छ ?
बहुमत जनताले के खोज्छन् त्यो नै हाम्रो चाहना हो । मेरो पनि त्यही हो । अहिले देशमा सर्वसधारणको जीउ धनको सुरक्षाको खाँचो छ भन्ने मलाई लागेको छ । देशमा शान्ति होस् नेपाली जनताले के खोजेका छन् त्यही होस् । सबैलाई अटाउने ठाउँ होस् र हाम्रा पूर्खाहरुले जसरी यो देशलाई एकताको सुत्रमा बाँधेका थिए त्यो माला नचुँडियोस् भन्ने हाम्रो चाहना छ ।
राजतन्त्रको अन्त्यपछि देश कतातिर जाँदै गरेको अनुभूति हुन्छ, दण्डहीनता र अराजकता बढेको छ, दलहरु सहमतिमा आउन सकेका छैनन्, हालै मात्र शिखरपुरुष गिरिजाबाबुको निधन भएको छ, यस्तो अबस्थामा नेपालको राजनीति कतातिर जाँदैछ भन्ने लाग्छ ?
यो कुरा मैले भन्नु भन्दा पनि सर्वसधारणहरुलाई सोध्नु र उहाँहरुबाट यसको जवाफ लिनु फाइदा जनक हुन्छ ।
नेपाली जनताले पुनः राजतन्त्र पुनःस्थापित गर्न चाहे भने तपाईं तयार हुनुहुन्छ ?
यो 'हाइपोथेटिकल' कुरा भयो । राजतन्त्रको विषयमा होस् वा अन्य कुनै पनि राष्ट्रिय सवालमा होस् । जनताको विचार, भनाइ, जनता जनार्दन नै हुन्छन् । त्यसैले सबैले त्यो मान्नै पर्ने हुन्छ ।
पूर्व राजा ज्ञानेन्द्र बाहिर बसेर शक्तिको राजनीति गरिरहेको छ भनेर भन्नेहरु पनि छन् । तिनीहरुलाई के जवाफ दिनु हुन्छ ?
त्यसो भए त धेरै अगाडि धेरै कुरा भइ सक्थ्यो । त्यस्तो हाम्रो बिचारै छैन । नत त्यस्तो नियत नै  छ । देशमा अमनचयन र शान्ति होस् भनेर नै केही नमानेर हामीले छाडेका हौं । नेपाली जनताले त्यसको मान्यता, मुल्य बुझेका छन् जस्तो लाग्छ । जनतालाई छाड्नुपर्छ यस्तो प्रश्न ।
तपाईंका दिन कसरी वितिरेहेको छ ?
के भन्ने ? जंगलमा बस्दाखेरी फाइदा छ । शान्ति पनि हुन्छ । विचार गर्ने मौका पनि पाउँछ । तर, अलि चिन्ता चाँही राष्ट्रकै छ । राष्ट्रिय एकता कै छ । सर्वसाधारणले राम्रोसँग, सुखीसँग बस्न पाओस् भन्ने छ । मेरो दिनचर्या पनि यही छ ।
नेपाली जनताले कुनै वेला निक्कै सम्मान गथ्र्यौ राजतन्त्रलाई, भगवानकै रुपमा मान्थे । तर, यतिवेला समय र परिस्थिति त्यस्तो रहेन । एक जना आम नागरिक जसरी नै हामीसँग आउनु भयो, एक जना शक्तिशाली राजा र अहिलेको अवस्थाबीच के भिन्नता पाउनु हुन्छ ?
एक दुईवटा भम्र चिर्नु छ । कहिल्यै पनि शक्ति खोजेको छैन राजाहरुले । कहिल्यै पनि कुनै पनि राजाले म देउता हो भनेर बोलेको पनि छैन । त्यसैले त्यो त जनताको माया र विश्वासले भएको कुरा हो जस्तो लाग्छ । मलाई व्यक्तिगत रुपमा कहिल्यै पनि जनताको माझमा अप्ठ्यारो महसुस भएन । पहिले पनि थिएन, अहिले पनि छैन । आज पनि भनौं हामी जानकीको नगरी जनकपुरमा आइ रामनवमीको दिनमा जानकी मन्दिरमा दर्शन गर्न पाउँदा जुन स्नेह, माया, ममता सर्वसाधारणबाट पाएँ, यसको मैले जवाफै दिन सक्दिन । त्यो त, जे जति, जसो बुझेको छु मैले भित्र राखेको छु । मैले बुझेको छु । भएजति जनतालाई मैले धन्यवाद दिनु पर्छ । अरु के भनौं ।
नारायणहिटी काण्ड र माघ १९ को 'कु' पछि राजतन्त्रलाई नेपाली जनताले बिस्तारै कम कम माया मार्दै गएको त सत्य हो नि ?
दुईवटा कुरा त्यसमा । एउटा पाठ जनताले सिकाउँछ पनि र नेतावालाहरुले सिक्नु पर्छ । जनताले हामीलाई त्यस्तै एउटा सन्देस दिएको हो की ? राजाहरु बरु सक्रिय नभएकै जनताले खोजेको हो की ? त्यही एउटा पाठ मैले सिकेको छु । तर, जनताले बिर्सन हुन्न । राजाले अभिभावकको रुप लिनु पर्छ । कहिले त्यसका लागि जे गर्नु पर्छ त्यो समयमा कदम उठाउनै पर्छ ।
सर्वसधारणको सुरक्षा, रक्षा गर्नुपर्ने अबस्था आउँछ । त्यो समयको विचार गर्दा परिस्थिति अर्कौ थियो । त्यो पछाडी फर्केर हेर्नु मात्र होइन, अगडि देश कस्तो हुन्छ ? समृद्ध, सफल त्यस्तो देश हामीलाई चाहिएको छ । त्यतातिर हामी सबै जुटेर जानु पर्दछ ।
दरबार हत्याकाण्ड र माघ १९ राजतन्त्र अन्त्यमा प्रमुख कारण हो भन्छन् । आजसम्म पनि दरवार हत्याकाण्डको रहस्य खुल्न सकेको छैन । यसमा के भनाइ छ ?
सर्वप्रथम म काठमाडौं मै थिइन, घट्ना हुँदा । जे जति हाम्रा परिवार छन् त्यो घट्नामा बाँचेर आएका । उनीहरुको कुरा सुन्दा तथ्य सत्य कुरा आयोगहरुबाट पनि निस्किसकेको छ । अव यि कारणहरुले राजसस्थालाई के न केही रुपमा असर पारेको हो भने त्यो अलिकति पछाडी र अगाडि हेर्दा हो/होइन भन्ने थाहा हुन्छ । यो कुरा जनतलाई छाडिदिनु पर्छ ।
राजतन्त्रको इतिहास समाप्त हुनुमा कहाँनिर के कमजोरी भयो भन्ने महसुस हुन्छ ?
समाप्त भइसकेको छ भन्ने जस्तो लाग्दैन । त्यसैले त्यो पनि अलि 'हाइपोथेटिकल' नै भयो । अघि भने जस्तै देशको इतिहासको पानाहरु पल्टाएर हेर्दाखेरी माथिजाने, तलजाने, भित्रिने-बाहिरिने भइरहन्छ । फेरि म दाहोर्‍याउछु, जनताले यो कुरालाई गहन र जिम्मेवारीका विचार गरेर जे निधो गर्छन् । त्यही सबैले मान्नु पर्छ ।
नेपाली जनताले राजतन्त्र हटाइसकेपछि दलहरु गठबन्धन बनाएर अघि बढ्न खोजी रहेका छन् । तर, पनि संविधान निर्माण हुन र शान्ति प्रकृया टुङ्गोमा पुग्न बाँकी छ । माओवादी र अन्य दलहरु मिलेर शासन गरिरहेका छन्,  यो किसिमको शासन प्रणालीलाई के भन्नुहुन्छ ?
जनताले यही चाहन्छन् भने ठिक छ । तर, देशलाई, सर्वसाधारणलाई यही ठिक छ यही बाटो नै हिड्न सक्छ भने हामीले के भन्नु । उहाँहरुलाई चित्त बुझेको छैन, कुनै न कुनै ठाउँमा, कुनै न कुनै कुरामा भनेदेखि जस्ले अहिले शासन गरिरहेका छन् । उहाँहरुले विचार गरेर जनताको कुरालाई मान्यता दिनुपर्छ । जनताको र राष्ट्रको हितलाई ध्यानमा राखेर काम गर्नुपर्छ भन्ने हामीलाई लाग्छ ।
तपाईंका भावी योजना अव के छन् ?
नेपालमै बस्छु । नेपालको सेवा गर्छु । नेपालीको सेवा गर्छु । मेरो योजना पहिले पनि यही थियो । अहिले पनि यही छ । भावी पनि त्यही हुनेछ ।