Friday, March 26, 2010

त्रिशूली ३ 'बी’ मा टेलिकमले लगानी गर्ने


काठमाडौं, १२ चैत
नेपाल टेलिकमले माथिल्लो तामाकोसीपछि त्रिशूली-३ बी जलविद्युत् आयोजनामा पनि लगानी गर्ने भएको छ ।
स्वदेशी लगानीमा बन्न लागेको माथिल्लो तामाकोसीमा ६ अर्ब ऋण र ६० करोड सेयर लगानी गर्ने निर्णय गरेको टेलिकमले त्रिशूली-३ बी आयोजनामा लगानी गर्ने भएको हो । टेलिकमले लगानी विविधीकरण गर्ने क्रममा नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्न लागेको ३७ मेघावाट क्षमताको सो आयोजनामा लगानीको तयारी गरेको छ । टेलिकमले अगामी सोमबार हुने दोस्रो वाषिर्क साधारणसभामा त्रिशूली-३ बीमा गर्ने लगानी औपचारिक घोषणा गर्नेछ ।
लगानीका विषयमा प्राधिकरण र टेलिकमबीच पटक-पटक भएको छलफलमा ५० करोडसम्म लगानी गर्ने मौखिक प्रतिबद्धता टेलिकमका अधिकारीले जनाइसकेका छन् । तर, लगानीको विषयमा औपचारिक निर्णय भने भइसकेको छैन । 'प्राधिकरणले निर्माण गर्ने आयोजनामा लगानी गर्न हामी इच्छुक भएका हौँ,' टेलिकम सञ्चालक समितिका अध्यक्ष सञ्चारसचिव सुशील घिमिरेले भने, 'त्रिशूली-३ बीका विषयमा प्रारम्भिक चरणको सहमति भएको छ ।'
घिमिरेका अनुसार, कम्पनीले पाउने सेयर हिस्सा र संरचनाको टुंगो लगाउन टेलिकमले नायव प्रबन्ध निर्देशक कन्हैयालाल गुप्ताको संयोजकत्वमा समितिसमेत गठन गरिसकेको छ । 'समितिले सैद्धान्तिक सहमतिका लागि खाका तयार गरेपछि मात्र सम्झौताको प्रक्रिया अघि बढ्छ,' घिमिरेले भने । घिमिरेले ऊर्जा संकटका कारण दूरसञ्चार क्षेत्र बढी समस्यामा परेकाले जलविद्युत्मा लगानी गर्न लागिएको जानकारी दिए । लामो लोडसेडिङका कारण दूरसञ्चार टावर एवं प्राविधिक केन्द्रहरूमा विद्युत् आपूर्ति हुन नसक्दा गुणस्तर खस्कँदै गएकाले ऊर्जा उत्पादन गर्ने क्षेत्रमा लगानी गर्ने नीति टेलिकमले लिएको उनले बताए ।
त्रिशूली-३ ए आयोजनाबाट निस्केको पानीबाट क्यास्केड आयोजनाका रूपमा त्रिशूली-३ बीको प्राधिकरणले निर्माण गर्न लागेको हो । ६० मेघावाटको त्रिशूली-३ ए चीन सरकारको सहयोगमा निर्माण भइरहेको छ । त्रिशूली-३ बीको निर्माणका लागि कम्पनी दर्ता गर्न प्रक्रिया अघि बढिरहेको प्राधिकरणका आयोजना विकास विभागका निर्देशक विष्णुबहादुर सिंहले बताए । उनले सार्वजनिक-निजी-साझेदारी
(पिपिपी) अवधारणामा विकास गर्न लागिएको आयोजनामा टेलिकमलाई लगानी गर्न आग्रह गरिएको जानकारी दिए । 'लगानीका लागि टेलिकमले अनौपचारिक सहमति जनाइसकेको छ,' उनले भने, 'स्थानीयवासीलाई दिने सेयर हिस्साको टुंगो लागेपछि टेलिकमको लगानी टुगो लाग्नेछ ।'
त्रिशूली-३ ए मा विदेशी लगानी भएका कारण आयोजना प्रभावित बासिन्दालाई सेयर दिन नसकेको प्राधिकरणले त्रिशूली-३ बीमा भने आयोजना प्रभावित रसुवा र नुवाकोटका स्थानीयवासीलाई प्राथमिकतामा राखेको छ । 'हामीले त्रिशूली-३ बीमा अधिकतम सेयर स्थानीयवासीलाई दिने निर्णय गरेका छाँै,' सिंहले भने । यसका लागि प्राधिकरणले स्थानीवासीलाई दिने सेयरको विषयमा आगामी मंगलबार छलफल गरी टुंगो लगाउनेछ ।
त्रिशूली-३ बी आयोजनाको कुल अनुमानित लागत ६ अर्ब छ । जसमा ७० प्रतिशत ऋण र ३० प्रतिशत सेयर हुनेछ । ३० प्रतिशतमध्ये स्थानीयवासीले लिने सेयरको टुंगो लगाई बाँकी सेयर प्राधिकरण र अन्य कम्पनीले लिनेछन् । आयोजना निर्माणमा स्थानीयवासीलाई बढीभन्दा बढी सहभागी गराई प्राधिकरणले प्राविधिक सहयोग गर्नेछ । यो आयोजना त्रिशूली-३ ए आयोजनासँगै अघि बढ्ने सिंहले जानकारी दिए । आगामी तीन वर्षभित्र दुवै आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

एसएलसी गतिविधि : परीक्षा विगि्रएपछि आत्महत्या


स्याङ्जा, चैत्र १३ - स्याङ्जा- परीक्षा विगि्रएको तनावमा एक विद्यार्थीले आत्महत्या गरेका छन् । बिहीबार एसएलसीको अग्रेजी विषय परीक्षा दिएर घर फर्किएका दिपक पौडेलले घर नजिकैको रुखमा झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । उनलाई १२ गते ५ वजे रुखमा झुण्डिएको अवस्थामा भेटिएको थियो ।
पुतलीबजार नगरपालिका ९ लामागेका १६ वषिर्या पौडेल श्रवण माविका विद्यार्थी हुन् । घर र्फकने क्रममा अंग्रेजी विषयको परीक्षा विग्रेको साथीहरुसँग गुनासो गरेकाले परीक्षाकै कारणले आत्महत्या गरेको हुनसक्ने अभिभावकको अनुमान छ ।
लहानमा परीक्षामा चिट चोराउन सहयोग गरेको र परिक्षा अनियमितता गरेको भन्दै सिरहाको लहानस्थित विभिन्न चारवटा परीक्षा केन्द्रबाट शुक्रबार ११ जना गार्ड र परिक्षार्थी पक्राउ परेका छन् । 
वडा प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक विपीन रेग्मीका अनुसार लहानस्थित पशुपति आर्दशमावि परीक्षा केन्द्रबाट अनियमितता गराएको भन्दै गार्डहरु सिरहा देविपुर २ का रामवावु सिंह, फुल्काहाकटीका अमिर कुमार मण्डल, बस्तीपुरका महेश कुमार यादव, महेशवारीका केदारनाथ यादव, लक्ष्मीपुरका मदन कुमार सिंह पक्राउ परेका छन् ।
त्यसैगरी ललकु मावि केन्द्रबाट लहान ५ का कमलेश्वर चौधरी, विष्णुपुरकटीका रविन्द्र कुमार यादव, सफटेक परीक्षा केन्द्रबाट सीतापुरका राजकुमार राम, विष्णुपुरकटीका रमेश यादव र एपोलो परिक्षा केन्द्रबाट महादेवा पोर्ताहाका महेन्द्र चौधरी र लालपुरका पृथ्वी सुनार पक्राउ परेका हुन् । उनीहरुलाई सिरहाका प्रमुख जिल्ला अधिकारी बिरेन्द्र यादव नेतृत्वको अनुगमन टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका सबैलाई परीक्षा सम्वन्धी नियमावली अनुसार चिट चोराउने लगायतका गतिविधीमा संलग्न भएको प्रावधान अनुसार कारवाही गरिने जिल्ला परिक्षा समितिले जनाएको छ ।
परिक्षा केन्द्रमै परिक्षार्थी सुत्केरी
सिन्धुली- सिन्धुलीको खुर्कोट परिक्षा केन्द्रमा शुक्रबार अनिबार्य नेपाली विषयको एसएलसी परिक्षा दिदादिदै एक परिक्षार्थीले छोरी जन्माएकी छन् । जलकन्या उच्च मावि चपौलीबाट एसएलसी परिक्षामा सहभागि भएकी १९ वषिर्या कमला श्रेष्ठले परिक्षा केन्द्रमै बच्चा जन्माएकी ईलाका प्रहरी कार्यालय खुर्कोटले जनाएको छ । बैतडीकी २१ वषिर्या आरती थापापछि परिक्षाकेन्द्रमै सुत्केरी हुने श्रेष्ठ दोस्रो भएकी छिन् । सुत्केरी परिक्षार्थी आमा र बच्चा दुवैको अवस्था सामान्य रहेको छ । जिल्ला शिक्षा कार्यालयका अनुसार नेपाली विषयको परिक्षा शान्तिपुर्ण रहृयो ।
पर्वत ठुलीपोखरीस्थित जनता सुर्दशन उच्चमाबि परीक्षा केन्द्रमा एसएसलसी परिक्षाको दोस्रो दिन शुक्रबार नेपाली विषयको परिक्षा आधा घण्टा ढिलो भएको छ । परिक्षाकेन्द्रमा बिद्यार्थीले सिट प्लानिङ्गका बारेमा बिबाद निकालेपछि परिक्षा साढे आठ बजे सुरु भएको हो ।
अघिल्लो दिनको सिट प्लानिङ्गमा हेरफेर गरिएपछि बिबाद भएको थियो । तर जिल्ला  शिक्षा अधिकारी नारायणप्रसाद भट्टले कुर्सी र बेञ्चको बिबाद भएको बताए । उनले बिबाद समाधान गरी परीक्षा सुचारु गरिएको जानकारी दिए 
नक्कली परीक्षार्थी पक्राउ
झापाको बेलडांगी स्थित भूटानी शरणार्थी शिबिरको एसएलसी परिक्षा केन्द्रबाट शुक्रबार दुई जना नक्कली परिक्षार्थी समातिएका छन् ।
इलाका प्रहरी कार्यलय दमकका अनुसार त्यहांक्ो त्रिरत्न माबि परीक्षा केन्द्रबाट सागर सुजीको नाममा परीक्षा दिइरहेका प्रल्हाद सुब्बा र तिलक सुब्बाको नाममा परीक्षा दिइरहेका तारानाथ घिमिरे समातिएका हुन् ।प्रल्हाद मेची बहुमुखी क्याम्पस भद्रपुरमा कक्षा १२मा अध्ययनरत छन् भने घिमिरे दमक बहुमुखी क्याम्पसमा कक्षा ११मा अध्ययनरत रहेको प्रहरीले जनाएको छ ।दुबैजना भूटानी शरणार्थी हुन् ।
केन्द्राध्यक्ष द्रोण श्रेष्ठका अनुसार परीक्षार्थीको थर र परीक्षा दिनेको अनुहार नमिलेपछि अनुसन्धान गर्दा उनीहरु नक्कली परीक्षार्थी भएको खुलेको हो ।दुबैलाई अहिले अनुसन्धानका लागि  इलाका प्रहरी कार्यलय दमकमा ल्याइएको छ  । शिक्षा ऐन अनुसार नक्कली परीक्षार्थीलाई १ लाख रुपैंया जरिवाना र छ महिना जेल सजांय हुन सक्ने प्रहरी निरीक्षक नबिन कार्कीले बताए ।
बच्चा जन्मेको एक घण्टापछि परीक्षा
दाङ
 दाङमा आज बच्चा जन्माएको एक घण्टामै एक सुत्केरी महिलाले एसएलसी परिक्षा दिएकी छिन् । पुरन्धारा गाविसको मावि हंशपुर परीक्षा केन्द्रबाट परीक्षा दिइरहेकी स्थानीय तारा मल्लले बच्चा जन्माएको एक घण्टामै परीक्षा दिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । बिहान करिव सात वजेतिर बच्चा जन्माएकी ताराले ८ बजेदेखि सुरु भएको नेपाली बिषयको परिक्षा शिक्षा कार्यालयका परीक्षा अधिकृत शेरवहादुर केसीले जानकारी दिनुभएको छ ।

पुलिसलाई पछ्याउँदै एनआरटी


काठमाडौ, चैत्र १३ -  जावलाखेलमाथि ४-३ को जित दर्ता गर्दै एनआरटी बिहीबार सहिद स्मारक सानमिगेल 'ए' डिभिजन लिगको दोस्रो स्थानमा उक्लिएको छ । सयन मोसाभीको ह्याटि्रक सहयोगमा एनआरटीले नवौं चरणको समाप्तिमा २० अंक जोडेर शीर्षस्थानमा रहेको पुलिससँगको दूरी एक अंकमा छोट्याएको छ । थ्री-स्टारलाई पछि पार्दै उसले एक स्थान फडको मारेको हो ।
अर्को खेलमा संकटालाई १-० ले हराएर आरसीटीले जितको लय पक्रेको संकेत गरेको छ । तैपनि उसको खेल भने स्तरीय रहेन । 'खेल एकदमै स्लो रह्यो,' आरसीटी प्रशिक्षक मधु कार्कीले भने, 'लोड बढी भएकाले खेलाडी थकित देखिए ।' चार महिनायता निरन्तर खेल्नुपरेकाले थाकेका धेरै खेलाडी घाइते रहेको उनले प्रस्ट्याए, 'कमजोरी फिटनेसको हो ।'
पन्ध्र वर्षपछि लिग च्याम्पियन बन्ने धुनमा रहेको एनआरटीले सुरुआती १३ मिनेटमै तीन गोल गरेको थियो । उसले ३८ मिनेटभित्र ४-१ को अग्रता लिएर पनि जावलाखेललाई दुई गोलको मौका दियो । एकै खेलमा कीर्तिमान सात गोल सुरुको एक घन्टामा सम्भव भएका थिए ।
पहिलो मिनेटमै गोलको खाता खोलेका डेनिस स्ट्राइकर मोसाभीले १३ औं मिनेटमा दोस्रो गोल गरे । पहिलो गोल डिफेन्डर र दोस्रो गोलकिपरको गल्तीको फाइदा उनले उठाए ।
मोसाभीले ३८ औं मिनेटमा ह्याटि्रक पूरा गरे । लिगमा यो तेस्रो ह्याटि्रक हो । यसअघि जावलाखेलका योगेश श्रेष्ठ र थ्री-स्टारका सन्तोष साहुखलले यो उपलब्धि आत्मसात् गरेका थिए ।
यसअघि तीन गोल गरेका मोसाभीको लिगमा गोल संख्या ६ पुगेको छ । सर्वाधिक गोलको सूचीमा उनी आठ गोल गरेका साहुखलपछि दोस्रोमा छन् । दसौं मिनेटमा रञ्जित श्रेष्ठले पेनाल्टी बक्स बाहिरबाटै सशक्त रूपमा प्रहार गरेको बल एनआरटीको दोस्रो गोलमा परिणत भएको थियो ।
पहिलो हाफमा प्रभावशाली प्रदर्शन गरेको एनआरटीविरुद्ध जावलाखेलले ३४ औं मिनेटमा पहिलो गोल गरेको थियो । मैदान छिरेको दोस्रो मिनेटमै गोलको खाता खोलेका सब्स्िटच्युट राज पौडेलले पहिलो हाफको इन्ज्युरी टाइममा दोस्रो गोल थपेर जावलाखेललाई २-४ को स्थितिमा पुर्‍याएका थिए ।
विक्रम लामाले ६० औं मिनेटमा गोल गर्दै ललितपुरको क्लबलाई ३-४ मा पुर्‍याएर खेलमा फर्काउने प्रयास गरेका थिए । पाएका अवसर सदुपयोग गर्न नसकेपछि जावलाखेल अंक खोस्न असफल रह्यो ।
'तीन अंक चाहिएको थियो, त्यो पूरा भयो,' एनआरटी प्रशिक्षक डिकेन सुवालले भने, 'व्यावसायिक स्तरको फुटबल भने खेल्न सकेनन् । बल होल्ड गरेर खेल्न
नसकेपछि दोस्रो हाफमा दबाब झेल्नुपर्‍यो ।' जावलाखेलका सुनिल रावत ८३ औं मिनेटमा दोस्रो पहेंलो कार्ड पाएपछि मैदान छोड्न बाध्य भए ।
तेस्रो जितपछि आरसीटीको खातामा ११ अंक पुग्यो ।
शीर्ष सातमा रहेका मच्छिन्द्र र आर्मीभन्दा यो एक अंक कम हो । कीर्तिमान ६ पल्टको लिग विजेताका लागि बुद्ध लामाले ४९ औं मिनेटमा निणर्ायक गोल गरे ।
दीपक राईको क्रसमा गोलकिपर सुमन लिगल चुकेपछि बुद्धले हेडद्वारा पहिलो बारमै बललाई जाली चुमाएका थिए ।
संकटाले पनि राम्रो खेल्न सकेन । पूरा खेलमा उसले जम्मा एकमात्र पोस्ट आक्रमण गर्‍यो । सुजल लिम्बूले २५ यार्ड दूरीबाट प्रहार गरेको बल २६ औं मिनेटमा आरसीटी गोलकिपर दिलीप क्षेत्रीले उत्कृष्ट रूपमा पञ्च गर्दै बचाए ।
आरसीटीका तीन आक्रमणले पहिलो हाफमा गोलपोस्टको दिशा लिन सकेनन् । दुई जित दर्ता गरेको संकटा सातौं हारपछि रेलिगेसन क्षेत्रमा कायमै रह्यो ।
एनआरटी ४-३ जावलाखेल
आरसीटी १-० संकटा
आजका खेल
पुलिसविरुद्ध थ्री-स्टार
आर्मीविरुद्ध मनाङ-मस्र्याङदी
अंक तालिका
टिम    खेल    जित    बराबर    हार    गोल    अंक
    पुलिस    ९    ६    ३    -    १४-३    २१
    एनआरटी    ९    ६    २    १    १४-८    २०
    थ्री-स्टार    ९    ५    २    २    १३-६    १७
    मनाङ-मस्र्याङदी    ९    ५    २    २    ९-५    १७
    पे|mन्ड्स    ९    ५    -    ४    ५-१४    १५
    आर्मी    ९    ३    ३    ३    १३-१०    १२
    मच्छिन्द्र    ९    २    ६    १    ८६    १२
    आरसीटी    ९    ३    २    ४    १०-१०    ११
    जावलाखेल    ९    २    १    ६    १३-१८    ७
    एपीएफ    ९    २    १    ७    ६-१६    ७
    संकटा    ९    २    -    ७    ७-१३    ६
    ब्वाइज युनियन    ९    १    २    ६    ९-१७    ५

शिक्षक-विद्यार्थीसहित चार जोडी पक्राउ


भक्तपुर, चैत्र १३ - प्रहरीले गट्ठाघरका केही क्याफे तथा रेस्टुरेन्टमा अश्लिल गतिविधि गरेको आरोपमा शिक्षक विद्यार्थीसहित चार जोडीलाई पक्राउ गरेको छ । उनीहरूलाई महानगरीय प्रहरी वृत्त ठिमीले छापा मारेर रंगेहात पक्राउ गरेको हो ।
वृत्तका प्रहरी नायब उपरीक्षक राधिका खडकाका अनुसार गेस्ट हाउस सञ्चालकलाई समेत नियन्त्रणमा लिएको छ । उनले बनेपाको चैतन्य बहुमुखी क्याम्पसमा १२ कक्षामा अध्ययनरत छात्रा, ठिमीको श्रद्धा नर्सिङ कलेजमा पहिलो वर्षमा अध्ययनरत छात्रा, युनिभर्सल कलेजकी १२ कक्षामा पढ्दै गरेकी छात्रालाई नियन्त्रणमा लिएको खड्काले बताइन् ।
श्रद्धा नर्सिङकी छात्रा कलेज पोसाकमै थिइन् । युनिभर्सल कलेजका शिक्षक दीपेश सुवेदी १२ कक्षाकी छात्रासित रंगेहात पक्राउ परेका थिए । उनले प्रयोग गरेको अस्थायी साधनसमेत प्रहरी चौकीमा ल्याएर फालेका थिए । अधिकांशले आफूहरू साथी भएको स्विकारेका छन् ।
'पक्राउ परेकालाई अभिभावकको जिम्मा लगाउँछौं,' खड्काले भनिन्, 'राजमार्गमा यस्ता समस्या बढेका छन्, हामी सुधारका लागि लागेका छौं ।'
मिड वे क्याफेमा प्रहरीले तीन साताअघि पनि छापा मारेर केही जोडीलाई रङ्गे हात पक्राउ गरेका थिए ।  खडकाका अनुसार युवती राखेर देह व्यापार गराउने कौशलटारको फ्रेन्डसिप रेस्टुरेन्ट एन्ड बार विथ गेस्ट हाउसमा छापा मार्दा पाँच जना युवती पक्राउ परेका हुन् । त्यस्तै पुजन र मध्यपुर गेस्ट हाउसमा पनि छापा मारेको थियो । गट्ठाघरको साझा पेट्रोलपम्प नजिकको मिड वे क्याफेबाट चार जोडीलाई भने रङ्गे हात पक्राउ गरेको हो ।
सुरक्षाकर्मीले दिएको जानकारीअनुसार लोकन्थलीदेखि साँगा भन्ज्याङसम्मका अधिकांश रेस्टुरेन्ट र गेस्टहाउसका नाममा सञ्चालित होटल तथा रेस्टुरेन्टमा देह व्यापार हुने गरेको छ । गेस्टहाउसमा युवती राखेर खाजा खान आउने ग्राहकसँग मोल मोलाई हुने गरेको ती सुरक्षा अधिकारीले बताए । लोकन्थलीदेखि हनुमन्तेपुलसम्मको अधिकांश गेस्टहाउस र रेस्टुरेन्टमा युवती राखेर देह व्यापार गराउने गरेको छ । जगातीदेखि साँगासम्मको दायाँबायाँ बनेका कटेजमा बिहान कलेज पोसाकमा विद्यार्थीहरू जाने गर्छन् ।
'लोकन्थलीदेखि हनुमन्ते पुलसम्म यस्ता रेस्टुरेन्ट धेरै छन्,' ती अधिकारीले भने, 'यी रेस्टुरेन्ट हाम्रो निगरानीमा छन् ।' प्रहरीले यस्ता रेस्टुरेन्टमा यौन व्यवसायीलाई राख्ने गरेका छन् ।
यौन व्यवसायीबाहेक यस्ता रेस्टुरेन्टमा दैनिक जसो विद्यालय पोसाकका विद्यार्थी जोडीसहित बिहानै पुग्ने गरेका छन् । प्रहरीले त्यस्तालाई बढी निगरानीमा राखेको छ ।
बेबिलोन सञ्चालक रिहा
काठमाडौं- एघार दिनअघि राजधानीको एक्सबारबाट पक्राउ परेका बेबिलोन डिस्कोका सञ्चालक सुबास लिम्बू बिहीबार धरौटीमा रिहा भएका छन् । प्रहरीले अघिल्लो बुधबार राति एक्स बारमा छापा मारेर लिम्बूलाई पक्राउ गरेर सार्वजानिक मुद्दा दायर गरेको थियो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद ढकालले २८ हजार धरौटीमा उनलाई छाड्ने आदेश दिएका हुन् । उनलाई पक्राउ गरेको पर्सिपल्ट प्रहरीले उनले सञ्चालन गर्दै आएको बेबिलोन डिस्कोमा छापा मारेर ३ सय ५० विद्यार्थीलाई पक्राउ गरेको थियो ।

'गल्ती गरेको भए सजाय भोग्न तयार’

काठमाडौं/ दक्षिण एसियाली खेलकुदका कीर्तिमानी खेलाडी दीपक विष्टले आफूले गल्ती गरेको भए जस्तोसुकै सजाय भोग्न पनि तयारी भएको बताएका छन् । बिहीबार सिंगापुरमा युथ ओलम्पिक खेलकुद प्रतियोगिताको बैठकमा भाग लिएर फर्केपछि उनले सो कुरा बताएका हुन् । उनी चार दिनअघि नेपालको प्रतिनिधित्व गर्दै सेभ द मिसनका रूपमा सिंगापुर गएका थिए 
नेपाल तेक्वान्दो संघ तथा राष्ट्रिय खेलकुद परिषद्लाई कुनै जानकारी नदिई त्यसतर्फ गएका कारण उनलाई कारबाही गरिएको थियो। संघले दीपकलाई केन्द्रीय सदस्य र खेलाडी संरक्षण समितिको सचिवबाट निलम्बन गरेको छ । संघकै बाटो पछ्याउँदै परिषद्ले उनलाई एक वर्ष प्रतिबन्ध लगायो । संघ तथा परिषद्ले स्टार खेलाडीमाथि कारबाही गर्दा यतिखेर खेलकुद क्षेत्रमा ठूलै भूकम्प चलेको छ सिंगापुर पुग्दा आफूलाई कारबाही गरेको सुन्दा निकै दुःखी भएको उनले बताए । 'मुलुकका लागि जीवन अर्पण गरेको खेलाडीमाथि नै कारबाही गरेको सुन्दा निकै दुःखी भएँ,' उनले भनेनेपाल ओलम्पिक कमिटी (एनओसी) को लहलहैमा लागेर सिंगापुर गएर दीपकले ठूलो गल्ती गरेको जनाउँदै संघ र परिषद् थप कारबाही गर्ने प्रक्रियामा छन्। तर, दीपक भने आफूले जानाजान गल्ती नगरेको दाबी गर्छन् । 'जानाजान मैले केही पनि गल्ती गरेको छुइनँ, त्यो अन्जानमा भयो,' दीपकले नयाँ पत्रिकासित भने, 'त्यहाँ राष्ट्रको प्रतिनिधित्व गरी गएको थिएँ, मैले कुनै अपराध गरेको छैन राष्ट्रको प्रतिनिधि भएर जानु गल्ती मानिन्छ र ?'सागमा कीर्तिमान राखेका कारण एनओसीले खेलाडीको सम्मानकै रूपमा आफूलाई त्यहाँ पठाएको उनको दाबी छ । एनओसीले एथलेटिक्स कमिटीका अध्यक्षको हैसियतबाट आफूलाई छनोट गरेको स्पष्ट पारे । 'न त्यहाँ म खेलाडी भएरै गएको थिएँ, न परिषद्कै पदाधिकारीका रूपमै गएँ, केवल एक अध्यक्षको हैसियतले गएको हुँ,' जानुको कारण देखाउँदै उनले भने, 'जुन कोहीसँग पनि सम्बन्धित छैन ।' उनका अनुसार एनओसीले जानकारीस्वरूप परिषद्लाई बोधार्थका रूपमा पत्र पठाएको थियो राखेपका उपाध्यक्ष पीताम्बर तिमिल्सिना र संघका पदाधिकारीले नजानू भने पनि त्यसवेला हवाईजहाजभित्र भएका कारण नफर्केको उनले जानकारी दिए । 'त्यसवेला म केही पनि गर्नसक्ने अवस्थामा थिइनँ र त्यही वेलादेखि मन खल्लो भइसकेको थियो,' विमानभित्रको क्षणलाई सम्झँम्दै उनले भने।एक तेक्वान्दो खेलाडी भएको नाताले तेक्वान्दो संघप्रति कुनै प्रतिशोध नभएको उनले बताए। आफूलाई हुर्काएको संघप्रति सदैव माया तथा सम्मान रहने उनको भनाइ छ एक इमानदार र राष्ट्रप्रति माया गर्ने खेलाडीका कारण कुनै पनि विवादास्पद काम आफूले नगरेको उनको थप दाबी छ। 'मैले १५-२० वर्ष राष्ट्रका लागि नै खेलेँ, खेलाडीकै हितका लागि सिंगापुर गएको थिएँ,' दीपकले भने, 'त्यहाँ मैले हाम्रै खेलाडीको समस्या पनि राखेँ।''आइओसीका अध्यक्ष ज्याकसमक्ष नेपालका चार खेलाडी भिसाका कारण युथ ओलम्पिक खेलमा सहभागी हुन नसक्ने जानकारी दिएँ,' उनले भने, 'अध्यक्ष ज्याकले वाइल्ड कार्डका रूपमा ती खेलाडीलाई सहभागी गराउन सकिने बताए ।'यसैबीच, राष्टिय खेलकुद परिषद् (राखेप) ले बिहीबारै सबै संघका पदाधिकारीसँग दीपकको घटनाप्रति सुझाव तथा सल्लाह लिएको छ । बैठकमा सहभागी पदाधिकारीले यससम्बन्धमा छलफल गरेको तथा उनीहरू दीपकबारे सकारात्मक भएको बैठकमा सहभागी एक सदस्यले जानकारी दिए । यता परिषद्का सदस्य-सचिव हरिबाबु चौधरीले छानबिन समितिको प्रतिवेदनपछि दीपकको बारेमा थप निर्णय हुने बताए । 'अब दीपकले छानबिन समितिलाई दिएको सफाइको आधारमा थप कारबाही हुनेछ,' सदस्य-सचिव चौधरीले बताए । परिषद् स्रोतका अनुसार दीपकमाथि थप कुनै पनि कदम नचाल्न परिषद्लाई दबाब आइरहेको छ यता एनओसीका महासचिव जीवनराम श्रेष्ठले परिषद्को कार्य निरंकुश शासकीय प्रणालीअनुरूप भएको बताए। 'खेलाडीलाई सम्मान गर्नुका सट्टा उल्टै कारबाही गर्छ, यो शैली त निरंकुश र निकम्मा व्यक्तिले मात्र गर्न सक्छ,' श्रेष्ठले भने, 'खेलाडीको सम्मान गर्न सक्दैन भने के कामका लागि परिषद्चाहियो ?' ओलम्पिक कमिटीले खेलाडीको सम्मानका लागि नयाँ अभियान थालेको दाबी गर्दै श्रेष्ठले भने, 'दीपक राष्ट्रका महान् खेलाडी हुन्, उनले राष्ट्रलाई अन्तर्राष्ट्रिय जगतमा चिनाएका छन्, उनकै सम्मानका लागि सिंगापुरमा सेभ द मिसनका रूपमा पठाएका हौँ ।' कारबाही स-सम्मान फिर्ता नलिए आफू त्यसविरुद्ध सडकमा उत्रनेसमेत उनले बताए । 'दीपकमाथिको कारबाही फिर्ता नभए सबै पक्ष मिलेर आन्दोलन गर्नेछौँ,' उनले भने, 'खेलाडी हकहितका लागि हामी जे गर्न पनि तयार छौँ ।'

असन्तुष्ट कार्यकर्ताले लगाए एमाले अञ्चल कार्यालयमा ताला


बुटवल , चैत्र १३ - असन्तुष्ट एमाले कार्यकर्ताले बुटवलमा रहेको एमाले लुम्बिनी अञ्चल कार्यालयमा ताला लगाइ दिएका छन् ।
रुपन्देही जिल्ला कमिटीले कारवाही प्रकि्रया अगाडि बढाएका जिल्ला सदस्य एजाज आलमलाई अञ्चल कमिटीले फुकुवा गरेको विरोधमा अन्य कार्यकर्ताहरुले कार्यालयमा तालाबन्दी गरेका हुन् । एमाले क्षेत्रीय सदस्य देवेन्द्र ध्वजुको नेतृत्वमा गएको २५/३० जनाको टोलीले बिहान साढे ११ बजेतिर कार्यालयमा ताला लगाएको हो ।  गएको माघमा रुपन्देही उद्योग संघको अध्यक्ष पदमा पार्टीले क्षेत्रीय सदस्य ध्वजुको नाम सिफारिस गरेपनि जिल्ला सदस्य आलमले आफूखुसी उमेदवारी दिएका र जितेका पनि थिए । तत्पश्चात एमाले जिल्ला कमिटीले माघ ४ गते उनलाई ६ महिनासम्मका लागि जिल्ला सदस्यबाट निलम्बीत गरेको थियो ।  तर चैत ५ गते बसेको अञ्चल कमिटीको बैठकले उनको निलम्बन फुकुवा गरेकाले उक्त निर्णयको विरोधमा तालाबन्दी गरिएको तालाबन्दीमा संलग्न एमाले कार्यकर्ताहरुले बताएका छन् । साथै अञ्चलले निर्णय फिर्ता नलिदासम्म तालाबन्दी जारी राख्ने पनि उनीहरुले चेतावनी दिएका छन् । यता जिल्ला अध्यक्ष लिला गिरीले भने अञ्चलको निर्णयमाथि आफुहरुले प्रश्न नउठाएको र जिल्ला कमिटी तालाबन्दीमा संलग्न नरहेको बताए ।

पूर्व राजाको अभिव्यक्तीबिरुद्ध प्रदर्शन

दाङ, चैत्र १३ - पूर्व राजा ज्ञानेन्द्र शाहको अभिव्यक्ति बिरुद्ध शुक्रबार अखिल क्रान्तिकारीले दाङमा टायर बालेर प्रर्दशन गरेको छ । महेन्द्र बहुमुखी क्याम्पस अगाडी टायर बालेर प्रर्दशन गरिएको छ । प्रर्दशनपछि आयोजित कोणसभालाई सम्वोधन गर्दै महेन्द्र बहुमुखी क्याम्पसका स्ववियु सभापति प्रविण शर्माले देशमा राजतन्त्र अन्त्य भैसकेको अवस्थामा पनि पूर्वराजा ज्ञानेन्द्रले राजतन्त्र समाप्त नभएको भनि दिएको अभिव्यक्ती तत्काल फिर्ता लिनुपर्ने बताउनुभयो । अन्य वक्ताहरुले राजतन्त्रको वकालत गर्ने पूर्व राजा ज्ञानेन्द्रलाई कडा कार्वाही गर्न सरकारसंग माग गरेका थिए ।

पूर्वराजालाई राष्ट्राध्यक्षको सम्मान



काठमाडौ, चैत्र १३ - जानकी मन्दिर गुठी र त्यसका महन्थले नागरिक भइसकेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई संविधानविपरीत राष्ट्राध्यक्षको सम्मान दिएका छन् । गुठी र महन्थले रामनवमीको उपलक्ष्यमा जानकी मन्दिर दर्शन गर्न आएका शाहलाई त्यस्तो सम्मान दिए पनि धनुषा प्रशासन मौन रह्यो । गुठी र महन्थले बुधबार मन्दिरमा पूजाअर्चना गर्न आउँदा र जाँदा पूर्वराजालाई राष्ट्रपति रामवरण यादवलाई सरह राष्ट्राध्यक्षको सम्मान दिएका थिए ।
राज्यको ऐतिहासिक निधि सम्पत्ति र नीति नियमभित्र रहेको जानकी मन्दिरका महन्थ र गुठीले पूर्वराजालाई राष्ट्राध्यक्षको सम्मान दिएर संविधानको मात्र होइन राष्ट्रपतिको समेत अपमान तथा राष्ट्रिय मर्यादाको गम्भीर उल्लंघन गरेको संस्कृति मन्त्रालयका एक अधिकारीले बताए । 'राष्ट्राध्यक्षलाई दिइने सम्मान अरू कसैलाई दिन मिल्दैन । जानकी मन्दिर र त्यसका महन्थसमेत संविधानबमोजिम राष्ट्रिय मर्यादाभित्र रहनुपर्छ, मर्यादाबाहिर जान पाइँदैन,' संस्कृति मन्त्रालयका सचिव मोदराज डोटेलले भने ।
पूर्वराजालाई मन्दिरमा आउँदा र जाँदा राष्ट्राध्यक्षलाई मात्र ओढाइने विशेष प्रकारको छाता ओढाएर स्वागत र बिदाइ गरिएको थियो । मन्दिर र गुठीका तर्फबाट निमित्त महन्थ रामरोशन दासले पूर्वराजाको बिदाइ र स्वागत गरेका थिए । महन्थको आदेशमा मन्दिरकै कर्मचारीले शाह आउँदा र जाँदा विशेष प्रकारको छाता ओढाएर र चँवर हल्लाएर सम्मान दिएका थिए ।
'राष्ट्रपति रामवरण यादव मन्दिरमा पूजाअर्चना गर्न आउँदा र जाँदा जुन छाता ओढाइयो र चँवर हल्लाइएको थियो । निमित्त महन्थले जसरी स्वागत र बिदाइ गरेका थिए, पूर्वराजा आउँदा र जाँदा पनि त्यही छाता ओढाइयो, चँवर पनि त्यही हल्लाइयो,' प्रत्यक्षदर्शीले कान्तिपुरसित भने ।
निमित्त महन्थले राष्ट्रपतिको जसरी स्वागत र बिदाइ गरेका थिए, पूर्वराजालाई पनि त्यसरी नै स्वागत र बिदाइ गरे ।' महन्थ रामतपेश्वर हरिद्वारमा गएकाले निमित्त महन्थ दासले राष्ट्रपति र पूर्वराजाको स्वागत र बिदाइ गरेका थिए । निमित्त महन्थ दासले स्वदेशी र विदेशी राष्ट्राध्यक्षलाई ओढाउने गरिएको छाता पूर्वराजालाई समेत ओढाइएको स्वीकार गरे । उनले पूर्वराजा ज्ञानेन्द्रलाई पूर्वराष्ट्राध्यक्ष भएकाले राष्ट्राध्यक्षकै हैसियतमा छाता ओढाइएको र चँवर हल्लाइएको दाबी गरे ।
'स्वदेशी तथा विदेशी राष्ट्राध्यक्ष मन्दिरमा आउँदा र जाँदा स्वागत र बिदाइका क्रममा यो छाता ओढाइन्छ । पूर्वराजा ज्ञानेन्द्र पनि निवर्तमान राष्ट्राध्यक्ष भएकाले स्वदेशी तथा विदेशी राष्ट्राध्यक्षलाई ओढाउने छाता ओढाएका हौं,' निमित्त महन्थले भने । बुधबार एकै दिन तीन घन्टाको अन्तरालमा राष्ट्रपति यादव र पूर्वराजालाई त्यही छाता ओढाएर स्वागत र बिदाइ गरिएको थियो । राष्ट्रपतिले बिहान ८ बजे र पूर्वराजा ज्ञानेन्द्रले बिहान ११ बजे जानकी मन्दिरमा पूजाअर्चना गरेका थिए ।
'अति विशिष्ट अतिथिको सेवामा प्रयोग हुने छाता एउटामात्र भएकाले राष्ट्रपति र पूर्वराजालाई एउटै छाता प्रयोग गरिएको दाबी निमित्त महन्थको छ ।
उनका अनुसार त्यसबाहेक यो छाता विश्वविख्यात सन्त, महन्थको स्वागत र बिदाइ तथा हरेक वर्ष विवाह पञ्चमीमा राम-जानकीको डोली र सीताको जन्म भएको दिन जानकी नवमीको उपलक्ष्यमा जानकीको डोली निकाल्दामात्र ओढाउने गरिन्छ ।
गुठी संस्थानका प्रशासक वीरेन्द्र थपलियाले जानकी मन्दिर गुठी र महन्थबाट पूर्वराजालाई राष्ट्राध्यक्षको सम्मान दिएको घटनाबारे गुठीले भन्दा पनि प्रहरी प्रशासनले हेर्नुपर्ने विषय भएको बताए । 'सम्मान कसलाई दिने या नदिने कुरा प्रहरी प्रशासनको हो ।
जनकपुर मन्दिर गुठी र महन्थबाट कसरी गल्ती हुन गएको हो म पनि बुझ्छु,' उनले भने । त्यसबारेमा धनुषाका प्रमुख जिल्ला अधिकारी हरिराज पन्त र प्रहरी प्रमुख सर्वेन्द्र खनालसित बुझ्न खोज्दा सम्पर्क हुन सकेन ।