Saturday, March 27, 2010

माओवादी कार्यालयमा बम विस्फोट

नेपालगञ्ज, चैत १५- नेपालगञ्जको वडा नम्बर १६ स्थित कोरियन पुलमा रहेको एकीकृत नेकपा माओवादीको जिल्ला कार्यालयमा आज बिहान ५ बजे बम विस्फोट भएको छ। विस्फोटबाट कार्यालयको झ्यालढोकामा क्षति पुगेको छ। विस्फोट गराउन पाइप बम प्रयोग गरिएको बताइएको छ। सो विस्फोटबाट कार्यालमा नै बस्ने सीमा ओली सामान्य घाइते भएका छन्। उनी गर्भवती समेत छिन्।

विस्फोटको जिम्मा भगत सिंह नामको भूमिगत सशस्त्र समूहले लिएको छ।

भारतीय नेताको भनाई संघीयता विरुद्धः दाहाल

काठमाडौं, चैत्र १४ - माओवादी अध्यक्ष पुष्पकमल दाहालले भारतीय नेताले नेपाल हिन्दु राज्य हुनपर्छ भनि दिएको अभिव्यक्ति संघीयता विरुद्ध भएको आरोप लगाएका छन् ।
केही दिन अघि कांग्रेस सभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको अन्तिम संस्कारका लागि काठमाडौं आएका भारतीय जनता पार्टीका नेता राजनाथ सिंहले नेपाल हिन्दु राज्य घोषण गर्नु पर्ने अभिव्यक्ति दिएका थिए । अध्यक्ष दाहालले शनिबार तामाङ राष्ट्रिय मुक्ति मोर्चा सम्मेलनको उद्घाटन गर्दै उनले भने 'यो संघीयता र राष्ट्रिय विरुद्धको अभिव्यक्ति हो ।'
दाहालले विभिन्न कोणबाट आएका यस्ता अभिव्यक्तिले संविधान निर्माणमा ढिलाई भइरहेकोसमेत बताए ।

हत्याको बिरोधमा आन्दोलनको घोषणा

काठमाडौं, १४ चैत । अखिल नेपाल ट्रेड युनियन महासंघले आफ्ना केन्द्रीय सदस्य राम अयोध्या यादवको हत्याको विरोधमा आन्दोलनको घोषणा गरेको छ । महासंघका मिथिला राज्य सदस्य रहनुभएका यादवलाई शुक्रबार राति सिराहामा गोली हानी हत्या गर्ने समुहलाई कार्वाही माग गर्दै र हत्याको विरुद्ध प्रतिरोधको आव्हान गर्दै आन्दोलनको घोषणा गरेको हो ।

महासंघका अध्यक्ष शालिकराम जमरकट्टेलले शनिबार एक विज्ञप्ति जारी गर्दै चक्काजामदेखि देशभरका कारखाना बन्दको घोषणा गर्नुभएको हो । महासंघले हत्याको विरोधमा चैत्र १६ गते देशभरका उद्योग कलकारखाना बन्दको घोषणा गरेको छ । यस्तै सोही दिन दिउँसो १२ बजेदेखि ३ बजेसम्म तीन घण्टा देशभर चक्काजाम  गर्ने विज्ञप्तिमा उल्लेख छ ।

राजनीतिक कारणले सरकार संरक्षित अपराधीहरुमार्फत यादबको हत्या भएको भन्दै महासंघले अपराधी पाल्ने सरकारको राजिनामाको माग समेत गरेको छ । यादवलाई सहिद घोषणा गर्दै महासंघले तीन दिन महासंघका कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउने र १६ गते देशभर श्रद्धाञ्जली सभा गर्ने जनाएको छ ।

एकीकृत माओवादीका मिथिला राज्य समिति सदस्य समेत रहनुभएका यादवको हत्याको पार्टी प्रवक्ता दिननाथ शर्माले भत्र्सना गर्नुभएको छ । विगत ११ वर्षदेखि पार्टीको पुर्णकालिन कार्यकर्ता रहेका यादवको हत्याले पार्टीलाई स्तब्ध र आक्रोशित बनाएको भन्दै प्रवक्ता शर्माद्वारा जारी विज्ञप्तिमा दोषीलाई कार्वाही, मृतकलाई सहिद घोषणा र पीडित परिवारलाई क्षतिपूर्तीको माग गरिएको छ ।

पहिलो चरणको संघर्षबाट हत्यारालाई कार्वाही नभएमा दोस्रो चरणमा कडा र शसक्त आन्दोलका कार्यक्रम ल्याउने तयारी भइरहेको महासंघका केन्द्रीय सदस्य तेजलाल कर्णले जानकारी दिनुभयो । सिराहाको रामपुरविर्ता २ मल्हनियामा शनिबार राति मेलाबाट घर र्फकने क्रममा एकीकृत नेकपा माओवादी मिथिला राज्य समिति सदस्य समेत रहनुभएका मजदुर नेता यादवको गोली हानी हत्या भएको थियो । गोली प्रहारवाट सिराहा चन्द्रअयोध्यापुर ५ पानबारीका ३५ वषर्ीय यादबको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

हत्याको आशंकामा प्रहरीले पााच जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएकाहरुमा रामपुरविर्ता २ का अनुजित शाह, भुवन शाह, भोला श्रेष्ठ, रामपुरविर्ता १ का जीबन श्रेष्ठ र चन्द्रोदय १ का हरिशंकर सिंह छन् । उनीहरुलाई हिरासतमा राखी अनुसन्धान भइहरेको प्रहरीले जनाएको छ । घटनाको विरोधमा एकीकृत माओवादीका कार्यकर्ता र मजदुरहरुले मृतकको शव सिराहा बजारमा राखी विरोध प्रदर्शन गरेको प्रहरीले जनाएको छ ।

हरुवाको नेतृत्वले प्रतिगामिलाई बल - भट्टराइ

अर्जुन काफ्ले, स्याङ्जा, १४ चैत । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराईले वर्तमान  हरुवाहरुको नेतृत्वको सरकारका कारण प्रतिगामी तथा राजतन्त्रलाई बल पुगेको बताउनुभएको छ । उहाँले हरुवाको नेतृत्वले काम गर्न नसकेको फाईदा उठाउँदै इतिहासका पानामा सिमित राजतन्त्रका नाईके पूर्व राजा ज्ञानेन्द्र शाहले नेपालमा राजतन्त्र रहेको प्रतिक्रिया दिएको बताउनुभयो राजतन्त्र मरेको मानव सरह भएको बताउदै डा. भट्टराईले भन्नुभयो- मरेकाहरु जिउँदो हुन सक्दैनन् ।

उहाँले पुर्व राजा ज्ञानेन्द्रले धमिलो पानिमा माछा मार्न खोजे पनि हातमा भ्यागुता भन्दा अरु हात नलाग्ने जिकिर गर्नुभयो । स्याङ्जा पुतलीबजार नगरपालिका-८ को सतौ ठूलापधेरामा निर्माण गरिएको शहिद विजय ढकाल स्मारक अनावरण एवं विजय ढकाल पार्क उद्घाटन गर्दै उपाध्यक्ष डा. भट्टराईले शनिबार सो कुरा बताउनुभएको हो ।

उहाँले इतिहासमै वर्तमान सरकार असफल र भ्रष्ट भएको बताउँदै जनताको भावन विपरित हरुवाले नेतृत्व गरेका अगुवालाई सरकार छाडेर विजयीलाई सत्ता हस्तान्तरण गर्न आग्रह गर्नुभयो । डा. भट्टराईले आग्रहलाई पराजयको रुपमा बुझि वेवास्ता गरेका जनताको आन्दोलको वलमा सत्ता कब्जा गरिने ढोकुवा गर्नुभयो ।

पूर्व अर्थमन्त्री समेत रहनुभएका डा. भट्टराईले प्रतिगामीको आडमा तोकिएको मितिमा संविधान नलेख्न सरकारले आलटाल गरेको आरोप लगाउनुभयो । उहाँले समयमै संविधान लेख्न सहमति, सहकार्य र एकताको आवश्यकता रहेको बताउनुभयो । स्मारक अनावरण एवं पार्क उद्घाटनका अवसरमा एकीकृत नेकपा माओवादीका पोलिटव्यूरो सदस्य तथा जनक्रान्तिका महान शहिद परिवार समाज केन्दि्रय अध्यक्ष हितराज पाण्डेले शहिदको सपना साकार पार्न सबैको सहयोग अपरिहार्य भएको बताउनुभएको थियो ।

नेता पाण्डेले शहिद र जनताको भावना समेटिने संविधान बनाउनका लागि पुनः अर्को क्रान्तिको आवश्यकता रहेको बताउनुभयो । उद्घाटनका अवसरमा एकीकृत नेकपा माओवादी स्याङ्जाका ईन्चार्ज रमेश सिग्देल, शहिद विजय ढकाल स्मृति प्रतिष्ठानका संरक्षक घनश्याम ढकाल लगाएतका वक्ताहरुले १२ वर्षे जनयुद्धमा हजारौले त्याग गरेको हुदा त्यो त्यागलाई ध्यानमा राखेर अगाडी बढेमा मात्रै शहिद प्रति सच्चा समर्पण हुने बताउनुभएको थियो ।

कार्यक्रममा जनयुद्धका समयमा ज्यान गुमाएका परिवारका सदस्यलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा हितराज पाण्डे, बिरजा अधिकारी, धनकुमारी ढकाल, मेघबहादुर शाह, पारु ढकाल र हरी सुवेदी रहेका थिए । शहिद विजय ढकाल स्मृति प्रतिष्ठानका अध्यक्ष विश्वप्रकाश लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य सदस्य सचिव हुमनाथ ढकाल र संचालन सचिव रुद्र भट्टले गर्नुभएको थियो ।

जिल्ला सदरमुकाम पुतलीबजार नगरपालिका वडा नं. ८ स्थित सतौ ठूलापधेरमा स्थापन गरिएको शहिद विजय ढकाल स्मृति प्रतिष्ठानको स्मारक र पार्क निर्माणमा भौतिक योजना तथा निर्माण मन्त्रालय, जिल्ला विकास समिति, पुतलीबजार नगरपालिका र स्थानिय जनश्रमदान गरि करिव ४ लाख २५ हजारमा खर्च भएको बताइएको छ ।

शनिबार नै उपाध्यक्ष भट्टराईले राजनीतिक दलले दलगत स्वार्थ त्यागेमा नेपालको राष्ट्रिय स्वाधिनता, शान्ति, जनसविधान र आत्मनिर्भर अर्थतन्त्रका चुनौतिहरुको सामना गर्न सकिने बताउनु भयो । उहाँले नेपालको राष्ट्रिय स्वाधिनता, शान्ति, जनसविधान र आत्मनिर्भर अर्थतन्त्रका चुनौतिहरु विषयक अन्तक्रिर्यामा बोल्दै राष्ट्रियता, लोकतन्त्र र अर्थनीति यसका मुख्य मुद्धा रहेको बताउनु भयो । डा. भट्टराइले सन् १९५०को भारतसागको सन्धि कुटनितिक ढंगले परिमार्जन गर्नुपर्नै बताउनु भयो । अन्तक्रियामा राष्ट्रिय स्वाधिनताका लागि खुला सीमानाको व्यवस्थापन गर्नुपर्ने समेत बताउनु भयो ।

'माओवादीको नेतृत्वमा सरकार नबने शान्ति र संविधान पनि नबन्ने'


धनगढी, चैत्र १४ - माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले  आफ्नो पार्टीमको नेतृत्वमा राष्ट्रिय सरकार नबने शान्ति प्रकृया र संविधान निर्माण प्रकृया सफल नहुने ठोकेुवा गरेका छन् । कैलालीको गेटा विमानस्थलमा शनिबार संवाददाताहरुसंग कुरा गर्दै उनले सेना समायोजन र संविधान निर्माणको काम संगसंगै हुनुपर्ने पनि बताए ।
पूर्वराजा ज्ञानेन्द्र शाहले राजतन्त्र अन्त्य भई नसकेको भन्ने अभिव्यक्ति दिनु नेपाली जनता माथि ठूलो अपमान भएको पनि  श्रेष्ठले उल्लेख गरे । सो अभिव्यक्ति नेपाली जनताको लागि ठूलो चुनौतीको विषय भएको पनि उनको भनाई थियो ।
यस्तो अभिव्यक्ति दिने राजाको सरकारले दिएका सबै सुविधा कटौती गर्नुपर्ने र नागार्जुन दरवारबाटसमेत हटाउनु पर्ने उनले बताए । जेठ १४ गतेभित्र नयाा संविधान जारी गर्नैपर्ने बताउादै श्रेष्ठले तोकिएको मितिमा संविधान जारी नभए जनविद्रोहमा जाने चेतावनी पनि दिए ।
अहिले माओवादी शान्ति प्रकृया सफल पार्ने र संविधान निर्माण गर्ने पक्षमा रहेको बताउादै श्रेष्ठले यसका लागि सबै राजनीतिक दलहरु बीच सहमतिको आवश्यक्ता रहेको उनको भनाई थियो ।
उच्चस्तरीय राजनीतिक संयन्त्रको नेतृत्व माओवादीले पाउनुपर्ने पनि उनले बताए ।
कैलालीको मसुरियामा शुरु भएको कार्यकर्ता प्रशिक्षणका लागी श्रेष्ठ यहाँ आएका हुन् ।

हराएका मूर्ति भारतमा भेटिए

शेरबहादुर केसी, बुटवल, चैत १४-  कपिलवस्तुको बहादुरगन्जस्थित रामजानकी मन्दिरबाट हराएका पुरातात्त्विक महत्त्वका मूर्ति भारतमा फेला परेका छन्। उत्तर प्रदेशको सिद्धार्थनगर जिल्लास्थित डुमरियागन्जमा भारतीय प्रहरीले नेपालबाट हराएका पाँच वटा अष्ठधातुको मूर्तिसहित एक जनालाई पक्राउ गरेको छ। फेला परेका मूर्तिमा राम, जानकी, लक्ष्मणका ठूला मूर्तिसहित पाँच वटा छन्।
भारतीय प्रहरीले मूर्ति डुमरियागन्ज थानामा राखेको छ भने पक्राउ परेका भारतीय नागरिक लालु राजभरलाई मूर्ति चोरेको अभियोगमा अदालतमा मुद्दा चलाएको छ। डुमरियागन्जस्थित शिवम् गेष्ट हाउसनजिकैबाट युपी ४२ पी ००९६ नम्बरको मोटरसाइकलमा राखेका दुई वटा झोलामा मूर्ति फेला पारेको प्रहरीले जनाएको छ।  मूर्ति चोरीमा संलग्न अर्का अभियुक्त महेन्द्र केवट फरार रहेको भारतीय प्रहरीको भनाई छ।
भारतीय प्रशासनले बरामद मूर्तिहरु भारतकै भएको दाबी गरेको छ। उनीहरुले उक्त मूर्ति भारतको डुमरियागंन्जकै एक राम जानकी मन्दिरको भएको बताएका छन्। तर पक्राउ परेका राजभरले भने मूर्ति नेपालबाटै चोरी गरेर ल्याएको भारतीय प्रहरी तथा अदालतसमक्ष बयान दिएका स्रोतले जनाएको छ।
भारतीय प्रहरीले ती मूर्ति मुद्दाको छिनोफानो नभएसम्म भारतमै रहने बताएका छन्। उक्त मूर्ति नेपालको भए/नभएबारे केही तथ्य फेला नपरेको हुँदा भारतकै मन्दिरको हुन सक्ने भारतीय प्रहरीको दाबी छ। तर नेपालको कृष्णनगर सिमानाका प्रहरी निरीक्षक कृष्ण केसीले भने उक्त ५ वटै मूर्ति नेपालको रहेको बताएका छन्। उनले चैत २ गते बहादुरगन्जस्थित रामजानकी मन्दिरबाट मूर्ति हराएको बताएका छन्। उनले भेटिएका मूर्ति भारतबाट ल्याउन आन्तरिक पहल भइरहेको पनि नागरिकलाई बताए।
भारतको सिद्धार्थनगरस्थित जिल्ला अदालतले सप्रमाण ल्याएमात्र मूर्ति नेपाललाई सुम्पने बताएको छ।  भारतीय सहारा राष्ट्रिय दैनिकले चैत ५ गतेको अङ्कमा बरामद मूर्तिको अन्तर्राष्ट्रिय मूल्य १० करोड रुपैयाँ पर्ने जनाएको छ।

काँग्रेस कार्यकर्ताद्वारा महिलामाथी कुट्पीट

रुकुम, १४ चैत । नेपाली काँग्रेसका पुरुष कार्यकर्ताहरुको समुहले एक स्थानिय महिलालाई कुटपिट गरेका छन् । सार्वजनिक ठाउँमा निजि घर बनाएको विषयमा छलफल भइरहेको वेला शुक्रबार बिहान रुकुमको काँडामा कांग्रेसका कार्यकर्ताले अखिल नेपाल महिला संघ क्रान्तिकारीकी जिल्ला सदस्य माया छिनाल र गाउँ इकाई समितिकी सदस्य सरिता छिनाललाई आक्रमण गरी घाइते बनाएका छन् । 

रुकुम जिल्लाको काँडा गाविस वडा नं.४ सेरावाङ्ग गाउँको सार्वजनिक चौतारीमा निजि घर बनाएको विषयमा उत्पन्न भएको विवाद अन्त्य गर्न छलफल भइरहेको बेला नेपाली काँग्रेसका कार्यकर्ता भक्तिराम बुढा, नारायण बुढा र शान्तबहादुर बुढाले आक्रमण गरी घाइते बनाएका हुन् ।

विवाद अन्त्यका लागि भइरहेको छलफलमै आक्रमण गरेपछि माया छिनाल र सरिता छिनालले प्रतिकार गर्दा दोहोरो झडप पछि उनीहरु पनि सामान्य घाइते भएको बताइएको छ । घाइते महिलाहरुमध्ये माया छिनालको आँखामा गहिरो चोट लागेको छ । घाइते माया र सरितालाई जिल्ला अस्पताल सल्ले ल्याईएको छ ।

हड्ताल गर्ने डाक्टरलाई कारवाही गरिने


काठमाडौ, चैत्र १४ - त्रिवि शिक्षण अस्पतालले आन्दोलनका नाममा स्वास्थ्यजस्तो सम्वेदनशील क्षेत्रमा खेलवाड गर्न खोज्ने प्राध्यापक, चिकित्सक, विद्यार्थी तथा कर्मचारी जो कोहीलाई आइतबारदेखि कारबाही गर्ने चेतावनी दिएको छ ।
हालै लिएको स्नातकोत्तर तहको प्रवेश परीक्षामा अनियमितता भएको आरोपसहित दोषीलाई कारबाही गर्नुपर्ने र परीक्षा पुनः लिइनुपर्ने माग गर्दै आवासीय प्राध्यापक, चिकित्सक, र विद्याथ्र्ाीहरु आन्दोलनमा उत्रिंदा १५ दिनदेखि आˆनो सेवा ठप्प भएको सन्दर्भमा अस्पताल प्रशासनले यस्तो चेतावनी दिएको हो ।
जापान सरकारको सहयोगमा तीनदशकअघि स्थापना भएको मुलुकको पहिलो र ठूलो शिक्षण अस्पताल १५ दिन बन्द हुंदा सयौं बिरामी अलपत्र परेका छन् ।
अस्पताल बन्दका कारण करिब २५ हजार बिरामी उपचार सेवाबाट वञ्चित भइसकेका छन्भने दैनिक ५० भन्दा बढी जटिल र २० भन्दा बढी सामान्य प्रकृतिका शल्यक्रियासमेत अवरुद्ध हुन पुगेको छ ।   
सो अस्पताल बन्द हुंदा अहिले वीर अस्पतालमा बिरामीको चाप २० प्रतिशत वृद्धि भई आफूहरूलाई भ्याइनभ्याई भएको डा.विष्णु पोखरेलले जानकारी दिए ।
यसैगरी दैनिक करिब रु. १३ लाख आम्दानी गरिरहेको अस्पतालले आन्दोलनका कारण अहिलेसम्म रु. डेढ करोड गुमाइसकेको शिक्षण अस्पताल प्रशासनले जनाएको छ ।
प्रवेश परीक्षासम्बन्धी विवाद समाधान गरी अस्पतालको सेवा सुचारु गर्ने उद्देश्यले त्रिवि शिक्षण सङ्कायका डीन, सहायक डीन, क्याम्पस प्रमुख, आन्दोलनरत विद्यार्थी, प्राध्यापक र चिकित्सकका प्रतिनिधिबीच विभिन्न चरणको जारी वार्ता अहिले शिक्षा मन्त्रालय हुँदै प्रधानमन्त्री तहसम्म पुगेको छ ।
आन्दोलनरत पक्षको मागबमोजिम स्नातकोत्तर तहको प्रवेश परीक्षा रद्द गरिसकेको, छानबिन आयोगको प्रतिवेदनबमोजिम आरोपित डीन् निर्दोष देखिएको, स्थानीय बासिन्दाले अस्पतालको सेवा खुलाउन दबाब दिइरहेको, अधिकांश विद्यार्थी तथा चिकित्सक काममा र्फकन चाहिरहेको र क्याम्पस स्व्ातन्त्र विद्यार्थी यूनियन सरकारी पक्षबाट आयोग गठन गरी दोषीलाई हदैसम्मको कारबाही गरी यस किसिमको प्रवृत्ति सदैव अन्त्य गरिनुपर्ने पक्षमा अडिग रहेको अवस्था छ ।

चिनले ल्हासा हुँदै नेपालसम्म रेलमार्ग जोड्ने

हङकङ, चैत १४ - चीनले तिब्बतको राजधानी ल्हासाबाट नेपालको सिमानासम्म रेल लाईन विस्तार गर्ने भएको छ। रक्षामन्त्री विद्या भण्डारीसँग शुक्रबार बेइजिङमा भएको भेटमा चिनियाँ कम्युनिष्ट पार्टी स्थाई समितिका पोलिटब्यूरो सदस्य जोउ योङकाङले उक्त जानकारी दिएका हुन्।'योङकाङले तिब्बतको राजधानीबाट नेपालको सिमासम्म रेल पुर्‍याउने बचन दिएका छन्,' बेइजिङमा मन्त्री भण्डारीसँगै रहेका प्रेस सल्लाहकार सुवास देवकोटाले भने। केही वर्षदेखि द्विपक्षीय छलफलमा यो कुरा उठ्दै आए पनि विस्तृत योजना बनेको छैन।
ग्रेट हल अफ दि पीपुलमा भएको ४५ मिनेट लामो भेटमा ५५ वर्ष पुरानो नेपाल-चीन सम्बन्धलाई अझै सुदृढ बनाउनेबारे छलफल भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ। 'राष्ट्रिय स्वाधिनता, सार्वभौमिकता तथा अखण्डताको रक्षाका लागि नेपालको प्रयासलाई चीन समर्थन गर्दछ र नेपालले छनोट गर्ने विकासको मोडलको पनि सम्मान गर्दछ", वरिष्ठ चिनियाँ नेता योङकाङको भनाई उद्धृत गर्दै सिन्ह्वाले लेखेको छ।
कम्युनिष्ट नेता योङकाङले नेपालसँग भ्रमण आदान-प्रदान र सहयोग बढाउने बताउँदै १४ सय किलोमिटर लामो नेपाल-तिब्बत सिमा क्षेत्रको सुरक्षाका लागि सहकार्यमा जोड दिएका छन्। उनले तिब्बत विरोधी गतिविधि नियन्त्रण गरेकोमा नेपालको प्रशंशा पनि गरे।
भेटमा मन्त्री भण्डारीले निस्वार्थ सहयोग गर्ने चीनको तरिकालाई नेपाली जनताले सम्मान गरेको बताइन। चीन भ्रमणमा रहेकी रक्षामन्त्री भण्डारीले बिहिबार चिनियाँ रक्षामन्त्री जनरल लियाङ ग्वाङलिएसँग भेट गरेकी थिइन।

दक्षिणपन्थी सल्बलाहट


काठमाडौ, चैत्र १४ -  रामनवमी अवसर पारी राष्ट्रपति रामवरण यादवलाई पछ्याउँदै जनकपुर पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहले यस्तो अभिव्यक्ति सार्वजनिक गरे जसले नेपाली राजनीतिमा तरंग ल्यायो । नल्याओस् पनि किन ?
धार्मिक आडमा ज्ञानेन्द्रले राजनीतिक तीर चलाइदिए 'राजसंस्था समाप्त नभइसकेको' दाबी गरेर ।
राजतन्त्रको अवसानपछि धेरथोर नै सही नेपाली राजनीतिको आन्तरिक शक्ति केन्द्र बनेका थिए, कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला । उनको निधनसँगै त्यो शक्ति केन्द्रको अवसान भयो, ठीक त्यही बेलामा पूर्वराजा ज्ञानेन्द्र राजनीतिक दृश्यमा देखिन खोजे ।
'फेरि राजा हुनेभन्दा पनि धर्मको रूपमा मोर्चाबन्दी गरेर दक्षिणपन्थी धारको नेता बन्ने चाहना उनमा देखिएको छ,' राजनीतिक विश्लेषक सीके लालले भने, 'तर पटकपटक फेल भएजस्तै यसपटक पनि ज्ञानेन्द्रको राजनीतिक आँकलन असफल हुनेछ, किनकि नेपाली जनता निकै सचेत भइसकेका छन् ।' 
राजतन्त्रका पक्षपाती राप्रपा नेपालका अध्यक्ष कमल थापा पूर्वराजाको 'राजतन्त्र अन्त्य भइनसकेको' भन्ने अभिव्यक्तिमा प्रमुख रूपमा तीनवटा अर्थ रहेको तर्क अघि सार्छन् । पहिलो, मुलुक अन्तरिम कालमा रहेकाले अहिलेका सबै व्यवस्था अन्तरिम हुन् भन्ने अर्थ दिनु । दोस्रो, नेपाली मन, मष्तिस्कमा अहिले पनि राजसंस्थाप्रति सम्मान छ भनेर संकेत गर्नु । र तेस्रो, मुलुकको भूराजनीतिक बनोट, रणनीतिक/राजनीतिक अवस्थाका कारण राजतन्त्र आवश्यक रहेको प्रस्ट्याउन खोज्नु ।
उच्च स्रोतका अनुसार नारायणहिटीबाट बहिर्गमन भएदेखि नै ज्ञानेन्द्रले नागार्जुनमै बोलाएर आफूनिकट सञ्चारकर्मी, पेसाकर्मी र व्यक्तिहरूसँग अनौपचारिक गफगाफ जारी राखेका छन् । स्रोत भन्छ, 'सार्वजनिक अभिव्यक्ति हालैमात्र दिए पनि भौतिक रूपमा उनको सक्रियता भने केही समययता निकै बढेको छ, त्यो पनि आफूलाई राष्ट्रपतिसँग जोड्दै ।' काभ्रेको पनौतीमा भएको १२ वर्षे मकर मेलामा पनि राष्ट्रपतिलाई पछ्याउँदै पूर्वराजा ज्ञानेन्द्र माघ २५ गते मेला भर्न पुगे । सुरक्षाको कारण देखाएर लगातार दुईवटा महाशिवरात्रिमा पशुपति नगएका उनले यो वर्ष माघ २९ मा पशुपति पुगेर पूजाअर्चना गरे, त्यो पनि राष्ट्रपति फर्केलगत्तै ।
यसबाट उनले आफू पनि राष्ट्रपतिभन्दा कम नभएको सन्देश दिन खोजेको उनीनिकटका एक जानकारले बताए । संविधानमै लिपिबद्ध धर्मनिरपेक्षताको विरोधमा यज्ञ लगाउने 'कालीबाबा' हरूका यज्ञमा पुगेर लाख/दुई लाख रुपैयाँ दान दिनसमेत थालेका छन्, पूर्वराजा ।
विश्लेषक लालका शब्दमा यतिखेर मुलुकमा दिनहुँ हुने दस कार्यक्रममध्ये ८ धर्मसँग जोडिएका छन् र भारतमा रहेका करिब एक अर्ब हिन्दुहरू करिब तीन करोड जनसंख्या भएको नेपालमाथि हावी भइरहेका छन् । भारतका दर्जनौं धर्माधिकारीहरू नेपाललाई हिन्दु राष्ट्र बनाउन लागिपरेका छन् । दिनहुँजसो यज्ञ, महायज्ञ आयोजना भइरहेका छन् । 'त्यही मेसोमा धर्म अभियानको नेता बन्न सकिन्छ कि भनेर ज्ञानेन्द्र सल्बलाएका हुन्,' उनले भने । हालैमात्र भारतीय जनता पार्टीका पूर्वअध्यक्ष राजनाथ सिंहले नेपालमै आएर हिन्दु राज्यको अभियानमा सघाउने उद्घोष गरेका थिए । आफू राजावादी भए पनि ज्ञानेन्द्रको अभिव्यक्तिबाट अन्य दल अत्तालिएजस्तो उत्साहित नभएको थापाले बताए । 'राजनीतिक दलहरूले किन यति आक्रामक रूपमा प्रतिक्रिया जनाए मैले बुझेको छैन,' उनले भने, 'पार्टीहरूले आफ्नो अकर्मण्यता ढाक्न ओभररियाक्ट गरेजस्तो लाग्छ ।' पूर्वराजाको अभिव्यक्तिका तमाम सकारात्मक कुरालाई बिर्सेर दलहरूले एउटा वाक्यको मात्रै व्याख्या, अपव्याख्या गरिरहेको आरोप उनले लगाए ।
लोकतान्त्रिक आन्दोलनपछिका तीन प्रमुख उपलब्धि हुन्, गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता । संघीयतामा गए मुलुक विभाजन हुन्छ भन्ने उपप्रधानमन्त्री सुजाता कोइराला र आगामी संविधानमा मुलुक हिन्दु राज्यकै रूपमा रहने अर्का उपप्रधानमन्त्री विजयकुमार गच्छदारको अभिव्यक्ति सार्वजनिक भइसकेका छन् । त्यसैगरी राजतन्त्रका पक्षमा पनि नेतृत्व तहबाटै कुनै अभिव्यक्तिको अपेक्षा पूर्वराजाको रहेको उनीनिकट स्रोतले बतायो ।  
लामो समय सत्ता र शक्तिको प्रयोग गरेको व्यक्ति परिस्थिति फेरिएर त्यसबाट विमुख हुनुपरेपछि पुनः सत्ता र शक्तिप्राप्तिका लागि मूलधार होइन, जस्केलाबाट पस्ने प्रयत्न गर्छ । कुनै समयका कांग्रेस, एमालेजस्ता ठूला दल त्यागेर मधेसको क्षेत्रीय राजनीतिमा लागेर फेरि शक्तिको अभ्यास गरिरहेको उदाहरण प्रशस्त छ । विजय गच्छदार, शरदसिंह भण्डारी, महन्थ ठाकुर, जयप्रकाशप्रसाद गुप्ता, रामचन्द्र राय यादव, रामजनम चौधरी आदि । यतिखेर यीमध्ये केही सरकारमा छन्, केही दलको शक्तिशाली ओहोदामा ।
यसैगरी माओवादीले बीजारोपण गरेको जातीय राज्यको अवधारणाका कारण आफ्नो अस्तित्व समाप्त हुने भन्दै जातीय संगठन निर्माणको क्रम तीव्र छ । खासगरी वामपन्थी माओवादी सत्तामा पुगेका बेला दक्षिणपन्थी सक्रियता निकै बढेको विश्लेषक लालको बुझाइ छ । 'सत्ताबाहिर भए पनि अहिलेको मूल राजनीतिक शक्ति माओवादी नै हो, उसलाई समाप्त पार्न दक्षिणपन्थीहरू सल्बलाइरहेका छन्,' उनले भने । अहिलेको सरकार नै दक्षिणपन्थी भावको भएको विश्लेषक लालको बुझाइ छ ।
'शान्ति प्रक्रियालाई स्याबोटेज गर्नकै लागि यो सरकार गठन भएको हो, सत्तामा रहेकाले रूपमा मध्यमार्गी देखिए पनि सारमा यो सरकार दक्षिणपन्थी हो,' उनले भने, 'शक्तिशाली प्रतिपक्षी भएकाले सत्ताबाहिर पनि माओवादीलाई विस्थापन गर्न अन्य दक्षिणपन्थी अघि सरेका छन् ।' सत्ता र सत्ताबाहिर दुवैमा दक्षिणपन्थी हावी गराएर माओवादीलाई गलाउने प्रयत्न भइरहेको उनले बताए ।
मुलुकमा बढ्दो दक्षिणपन्थी दबदबामा भारतको समेत सहयोग रहेको र ठाडो हस्तक्षेप तथा मुठभेडको अवस्था आउन नदिनका लागि मात्रै माओवादीले संयमता अपनाएको उनको बुझाइ छ ।
'माओवादी माधव नेपालको सरकार र सेनासँग डराएर चुप बसेको होइन,' उनले भने, 'एकखाले अराजकता सिर्जना गरेर बाह्य मुलुकबाट हुनसक्ने ठाडो हस्तक्षेपलाई मध्यनजर गरेर संयमता अपनाएको मात्र हो ।'
संविधान निर्माण अनिश्चिततातर्फ धकेलिएका बेला राष्ट्रपतिलाई अघि सारेर एकखाले दक्षिणपन्थ लाद्ने गाइँगुइँसमेत राजनीतिक वृत्तमा चल्न थालेको छ । एमाले पोलिटब्युरो सदस्य प्रदीप ज्ञवाली भने तत्कालका लागि त्यस्तो सम्भावनालाई नकार्छन् । 'फेरि पनि सहमतिमै अघि बढ्नुको विकल्प छैन दलहरूसँग । शान्ति प्रक्रिया र संविधान लेखनलाई अन्तिम रूप दिन बरु केही समय संविधानसभाको समयावधि थपेर अघि बढ्ने दिशामा सहमति बन्न सक्छ,' उनले भने ।
माओवादीको व्यापक राजनीतिक परिचालन र तल्लो तहसम्मको संगठन विस्तारका कारण दक्षिणपन्थीमा तत्काल राष्ट्रपति शासन लगाउने हिम्मत नपलाएको विश्लेषक लालको बुझाइ छ । 'अहिलेको राजनीतिक नेतृत्व र एकपटक हारेको सेना दुवैमा माओवादीलाई दबाउन सक्ने आँट छैन,' अब के हुन्छ त ? भन्ने प्रश्नको उत्तरमा उनले भने, 'संविधानसभामा माओवादी नै ठूलो दल छ । तीन महिना, छ महिना गरेर म्याद थपेर संविधानसभाको वैधानिकता कमजोर पार्नेजस्ता विभिन्न तरिका अपनाएर माओवादीलाई कमजोर पार्दै अघि बढ्ने नै दक्षिणपन्थीको तत्कालीन रणनीति हुनेछ ।'

माओवादी कार्यकर्ताको हत्या


लहान, चैत्र १४ - अज्ञात व्यक्तिको गोली प्रहारबाट शुक्रबार राति सिरहाको रामपुरविर्ता मल्हनियामा  माओवादी कार्यकर्ताको मृत्यु भएको छ ।
प्रहरीका अनुसार रामपुरविर्तास्थित मल्हनियाबाट रामनवमी मेलाबाट राति साढे १२ बजे घरतर्फ आइरहेको बेला अज्ञात व्यक्तिको गोली प्रहारबाट माओवादी कार्यकर्ता सिरहा चन्द्रअयोध्यापुर-९ पानवारीका ३५ वर्षीय रामअयोधी यादवको मृत्यु भएको हो । मृतक यादवलाई पछाडिबाट घाटीमा गोली हानिएको थियो ।
मृतक यादव माओवादी  भातृसंगठन मिथिला राज्य समिति सदस्य एवं ट्रेड युनियन महासंघका मिथिला संयोजक थिए ।