Friday, November 23, 2012

अन्तरिम संविधानसित बाझियो राष्ट्रपतिको आह्वान


राष्ट्रपतिले नयाँ प्रधानमन्त्री गठनका लागि गरेको आह्वान नेपालको अन्तरिम संविधानसित बाझिएको छ । अन्तरिम संविधानमा प्रधानमन्त्री हुनका लागि व्यवस्थापिका संसद्को सदस्य हुनैपर्ने अनिवार्य प्रावधान रहेको छ । गत जेठ १४ मा संविधानसभा विघटन भएपछि देशमा कोही व्यक्ति पनि प्रधानमन्त्री हुनका लागि योग्य छैनन् । संसद् सदस्य नरहेको व्यक्ति प्रधानमन्त्री पदबाट स्वतः मुक्त हुने व्यवस्था अन्तरिम संविधानले गरेको छ ।
अन्तरिम संविधानको धारा ३८ (१) मा ‘मन्त्रिपरिषद्को गठन’ शीर्षकमा भनिएको छ, ‘राजनीतिक सहमतिको आधारमा प्रधानमन्त्री र निजको अध्यक्षतामा मन्त्रिपरिषद्को गठन हुने छ ।’ त्यस्तै, सोही धाराको उपधारा (२) मा भनिएको छ-’उपधारा (१) बमोजिम सहमति हुन नसकेमा व्यवस्थापिका-संसद्को तत्काल कायम रहेको सदस्य संख्याको बहुमतको आधारमा प्रधानमन्त्री निर्वाचित हुनेछ ।’
धारा ३८ को उपधारा (७) मा प्रधानमन्त्री पदमुक्त हुने ४ वटा अवस्थाहरु उल्लेख गरिएका छन्, जसअनुसार राष्ट्रपतिसमक्ष राजीनामा दिएमा, अविश्वासको प्रस्ताव पारित भएमा, व्यवस्थापिका संसद्को सदस्य नरहेमा वा मृत्यु भएमा प्रधानमन्त्री आफ्नो पदबाट स्वतः मुक्त हुन्छन् । अन्तरिम संविधानले यसरी संसद् बाहिरबाट प्रधानमन्त्रीको परिकल्पनै नगरेको अवस्थामा राष्ट्रपतिले संविधानको कुन प्रावधानमा टेकेर प्रधानमन्त्री नियुक्त गर्ने भन्ने संवैधानिक प्रश्न उब्जेको छ । धारा ३८ को उपधारा (५) मा मन्त्रीसमेत व्यवस्थापिका संसद्को सदस्यमध्येबाट हुनुपर्ने अनिवार्य व्यवस्था छ । तर, यो व्यवस्थालाई काट्दै धारा ४० मा संसद् सदस्य नरहेको व्यक्तिलाई प्रधानमन्त्रीले उपप्रधानमन्त्री वा मन्त्री नियुक्त गर्न पाउने परस्पर विरोधी व्यवस्था गरिएको छ । यही धारामा टेकेर संसद्बाहिरबाट मन्त्री बनाउने परम्परा बाबुरामअघिका प्रधानमन्त्रीहरुले बसाएका थिए ।
राष्ट्रपतिको आह्वानअनुसार तोकिएको मितिमा प्रधानमन्त्रीको नाममा सहमति भएन भने राष्ट्रपतिले ३८ (२) अनुसार बहुमतका आधारमा प्रधानमन्त्रीको निर्वाचन गर्न संसदलाई निर्देशन दिनुपर्ने हुन्छ । बहुमतका आधारमा प्रधानमन्त्री छान्ने अधिकार संविधानले राष्ट्रपतिलाई दिएको छैन ।
‘बाधा अड्काऊ’ को विशेष व्यवस्था
अन्तरिम संविधानसभा नलेखिएको तर मुलुकलाई निकास दिनका लागि नगरी नहुने कार्य गर्नका लागि अन्तरिम संविधानको धारा १५८ ले राष्ट्रपतिलाई ‘बाधा अड्काऊ’ फुकाउने अधिकार प्रदान गरेको छ । तर, बाधा अड्काऊ फुकाउने यो अधिकार राष्ट्रपतिले एक्लै गर्न सक्दैनन् । बाधा अड्काऊबारे धारा १५८ मा यस्तो लेखिएको छ-’यो संविधानको कार्यान्वयन गर्न कुने बाधा अड्काऊ परेमा राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा त्यस्तो बाधा अड्काउ फुकाउन आदेश जारी गर्न सक्नेछन् ।’ तर, यही धारामा यस्तो पनि भनिएको छ,’यस्तो आदेश व्यवस्थापिका संसद्बाट एक महिनाभित्र अनुमोदन गराउनुपर्ने छ ।’
धारा १५८ को प्रावधानलाई हेर्दा राष्ट्रपतिले संसद् रहेको वा नरहेको अवस्थामा बाधा अड्काऊ फुकाउने धाराको प्रयोग प्रधानमन्त्रीको सिफारिसविना एक्लैले गर्न सक्दैनन् ।
(अनलाइनखबर विश्लेषण, By: onlinekhabar.com)

राष्ट्रपतिद्वारा नेपालको नयाँ ज्ञानेन्द्र बन्ने दुस्प्रयास


काठमाडौ, मंसिर ८ - राष्ट्रपति रामवरण यादवले दलहरुलाई राष्ट्रिय सहमतिको सरकार गठनका लागि सात दिनको समय दिएर आह्‍वान गरेका छन् ।
राष्ट्रपतिले अन्तरिम संविधानको धारा ३८(१) अनुसार सहमतीय सरकारका लागि आह्वान गरेका हुन् । बारम्बार सहमतिको लागि माओवादी, कांग्रेस, एमाले र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुलाई बोलाएर राष्ट्रिय सहमतिका लागि आग्रह गर्दै आएका राष्ट्रपतिले राष्ट्रिय सहमतिको सरकार लागि संविधान अनुसार औपचारिक आह्वान गरेका हुन् ।
संविधान अनुसार राष्ट्रपतिले सहमतीय सरकारको लागि आह्वान गर्ने र त्यसले सरकार बनाउन नसकेमा संसदलाई बहुमतीय आधारमा सरकार चयनको लागि लेखी पठाउने अभ्यास छ । अन्तरिम संविधानमा राजनीतिक सहमतिको आधारमा प्रधानमन्त्री र उनको अध्यक्षतामा मन्त्रिपरिषद् गठन हुने व्यवस्था छ । गणतन्त्र कार्यान्वयन यता राष्ट्रपतिले दलहरुलाई यस्तो आहृवान गर्दै आएका छन् ।
हाल संसद नभएको अवस्थामा राष्ट्रपतिको आह्वानमा पनि राष्ट्रिय सहमतिको सरकार गठन नभएमा त्यसपछिको कदमका बारेमा भने अन्योल कायमै रहनेछ ।
जेठ १४ गते संविधानसभाको विघटनपछि राष्ट्रपतिले जेठ १६ गते बिज्ञप्ती जारी गरी सरकार कामचलाउ अवस्थामा रहेको उल्लेख गरेका थिए ।
साथै यसअघिको बैठकहरुमा राष्ट्रपतिले सरकारले मंसिर ७ गते संविधानसभाको पुननिर्वाचन घोषणा गरेको भएपनि त्यो हुन नसकेको भन्दै तत्काल राष्ट्रिय सहमतिको सरकार गठन गर्नका लागि आफुले कदम चाल्ने संकेत दिएका थिए ।
सरकारले भने बैशाख मसान्तसम्ममा संविधानसभा निर्वाचन गर्ने निर्णय गरेको छ ।
यथास्थितिवादी, प्रतिक्रियावादी, दक्षिणपन्थी, राष्ट्रघाती कांग्रेस–एमाले कुनै पनि हालतमा सहमतीको राजनीति चाहँदैनन् । उनीहरु जसरी हुन्छ अहिलेको वर्तमान सरकारलाई गिराएर आफुले सत्ता हत्याउने कोशिशमा छन् । न संविधानसभा, न संसद, न सांसद, न सभासद, यस्तो अवस्थामा यदी उनीहरुले सत्ता पाए भने देशमा न त चुनाव नै हुन्छ, न संविधान नै बन्छ । माकुनेको सरकारको पालामा नै देखाइसकेको निरंकुशता त्यो भन्दा बढी निरंकुश हुनेछ उनीहरुको सरकार । माकुनेको सरकारको पालामा त सभासदहरु थिए र उनीहरुको बहुमतले सरकार ढालिएको थियो, तर यदी अब उनीहरुको हातमा सत्ता सुम्पिने हो भने न त सभासद, न संसद अनी कसले ढाल्ने उनीहरुको निरंकुश सरकार ?
रामवरण यादव को हो ? उसको हैसियत के हो भन्ने कुरा त अन्तरिम संविधानमा प्रष्टै उल्लेख गरिएको छ । उसले आह्वान ग¥यो वा आदेश दियो भन्दैमा राष्ट्रघाती पाराले सहमती हुनैसक्दैन र गर्नु पनि हुन्न, कसैको तागत छैन, कसैको हैसियत र अधिकार छैन तँ सरकारबाट हट भन्न वा आफुखुशी सरकार चयन गर्न र अन्तरिम संविधानले पनि राष्ट्रपतिलाई यो अधिकार दिएको छैन । फेरी राष्ट्रपतिले किन असंवैधानिक कदम चाल्न खोज्दैछन् । यदी यस पटक पनि राष्ट्रपतिले असंवैधानिक कदम चाल्न खोज्यो भने निराश भएर प्रधानमन्त्रीले राजिनामा दिने होइन, बरु संसदको बहुमतले पारित गरेर राष्ट्रपतिलाई नै पदबाट बर्खास्त गर्नुपर्छ । राष्ट्रपति भनेको राजा होइन, शताब्दीयौँदेखि एकलौटी शासन गर्दै आएका राजतन्त्रलाई त निर्मूल पारियो भने राष्ट्रपति फेरी अर्को राजा, अर्को ज्ञानेन्द्र बन्ने दुस्साहस नगरे हुन्छ ।