Sunday, March 9, 2014

सीमा स्तम्भ खोज्दै विभागीय टोली

रौतहट, फाल्गुन २५ - भारतसँग सीमा जोडिएको क्षेत्रमा हराएको स्तम्भ (पिलर) को अनुगमन थालिएको छ । नापी विभागबाट आएको सरकारी टोलीले भारतसँग सीमा जोडिएको क्षेत्रमा पर्ने १७ वटा पिलर हराएकोमा अनुगमन तथा खोजी सुरु गरेको हो । सरकारी प्राविधिक टोलीले २६ किमि क्षेत्रमा हराएको स्तम्भको शुक्रबार स्थलगत अनुगमन थालेको छ ।  
टोलीले जीपीएस प्रविधिद्वारा सीमा स्तम्भको अनुगमन तथा खोजबिन सुरु गरेको जनायो । बर्सेनि भारतीयले नेपालसँगको सीमामा थिचोमिचो गर्दै आए पनि सरकारी टोलीले अनुगमन गरेको थिएन । विभागीय टोलीका इन्जिनियर सञ्जीवकुमार राउत र सर्वेक्षक उदय शेर्पा लिम्बूसँगै सहरी विकास तथा भवन निर्माण पर्साका इन्जिनियर भगवान गुप्तासहित स्थानीय प्रशासनको टोली स्तम्भ निरीक्षण र खोजबिनमा जुटेका हुन् । टोलीले रौतहट-सर्लाही सीमाको वाग्मतीको स्तम्भबाट अनुगमन सुरु गरेको हो । जोकाहा, रामपुर खाप, मठिया लगायतको सीमा क्षेत्रमा रहेका २१ वटा स्तम्भको निरीक्षण गरिसकेको छ । 'हराएको र पुराना स्तम्भको स्थलगत खोजीमा टोली जुटेको छ,' प्रमुख जिल्ला अधिकारी दिलबहादुर घिमिरेले भने । उनका अनुसार के कति हराएको हो टोलीले निरीक्षण गरेपछि मात्र नयाँ तथ्यांक आउनेछ ।
जोकाहा ९ मा ३ वटा मझौला सीमा स्तम्भ हराएको स्पष्ट भएको टोलीले जनायो । दशगजा क्षेत्रमा पानीदह भएको र भारतीयले सीमा क्षेत्रमा फोहोर फाल्ने गर्दा सीमा क्षेत्रको ३५१ (८,) ३५१-९), ३५१ -११) को मझौला पिलरसमेत हराएको हुन सक्ने टोलीको अनुमान छ । कतिपय सीमा क्षेत्रमा भारतीय पक्षबाट दसगजा मिचेर खेती गर्नुका साथै बाटो प्रयोग गर्दै आएको समेत पाइएको छ । गौर, औरैया, बकुल, लक्ष्मीपुरबेल बिछुवालगायतका स्थानमा ठूला स्तम्भहरूसमेत हराएको पाइएको छ । रौतहटको सीमा क्षेत्रमा लगाएको १ सय ५७ वटा सीमा स्तम्भमध्ये १ सय ४० वटा मात्र हाल फेला परेको छ । बाँकी स्तम्भका बारेमा स्थलगत अनुगमन भइरहेको सशस्त्र प्रहरी सीमा सुरक्षाबल गौरका एसपी वीरेन्द्रकुमार श्रेष्ठले बताए ।

No comments:

Post a Comment