Sunday, March 9, 2014

सीमा स्तम्भ खोज्दै विभागीय टोली

रौतहट, फाल्गुन २५ - भारतसँग सीमा जोडिएको क्षेत्रमा हराएको स्तम्भ (पिलर) को अनुगमन थालिएको छ । नापी विभागबाट आएको सरकारी टोलीले भारतसँग सीमा जोडिएको क्षेत्रमा पर्ने १७ वटा पिलर हराएकोमा अनुगमन तथा खोजी सुरु गरेको हो । सरकारी प्राविधिक टोलीले २६ किमि क्षेत्रमा हराएको स्तम्भको शुक्रबार स्थलगत अनुगमन थालेको छ ।  
टोलीले जीपीएस प्रविधिद्वारा सीमा स्तम्भको अनुगमन तथा खोजबिन सुरु गरेको जनायो । बर्सेनि भारतीयले नेपालसँगको सीमामा थिचोमिचो गर्दै आए पनि सरकारी टोलीले अनुगमन गरेको थिएन । विभागीय टोलीका इन्जिनियर सञ्जीवकुमार राउत र सर्वेक्षक उदय शेर्पा लिम्बूसँगै सहरी विकास तथा भवन निर्माण पर्साका इन्जिनियर भगवान गुप्तासहित स्थानीय प्रशासनको टोली स्तम्भ निरीक्षण र खोजबिनमा जुटेका हुन् । टोलीले रौतहट-सर्लाही सीमाको वाग्मतीको स्तम्भबाट अनुगमन सुरु गरेको हो । जोकाहा, रामपुर खाप, मठिया लगायतको सीमा क्षेत्रमा रहेका २१ वटा स्तम्भको निरीक्षण गरिसकेको छ । 'हराएको र पुराना स्तम्भको स्थलगत खोजीमा टोली जुटेको छ,' प्रमुख जिल्ला अधिकारी दिलबहादुर घिमिरेले भने । उनका अनुसार के कति हराएको हो टोलीले निरीक्षण गरेपछि मात्र नयाँ तथ्यांक आउनेछ ।
जोकाहा ९ मा ३ वटा मझौला सीमा स्तम्भ हराएको स्पष्ट भएको टोलीले जनायो । दशगजा क्षेत्रमा पानीदह भएको र भारतीयले सीमा क्षेत्रमा फोहोर फाल्ने गर्दा सीमा क्षेत्रको ३५१ (८,) ३५१-९), ३५१ -११) को मझौला पिलरसमेत हराएको हुन सक्ने टोलीको अनुमान छ । कतिपय सीमा क्षेत्रमा भारतीय पक्षबाट दसगजा मिचेर खेती गर्नुका साथै बाटो प्रयोग गर्दै आएको समेत पाइएको छ । गौर, औरैया, बकुल, लक्ष्मीपुरबेल बिछुवालगायतका स्थानमा ठूला स्तम्भहरूसमेत हराएको पाइएको छ । रौतहटको सीमा क्षेत्रमा लगाएको १ सय ५७ वटा सीमा स्तम्भमध्ये १ सय ४० वटा मात्र हाल फेला परेको छ । बाँकी स्तम्भका बारेमा स्थलगत अनुगमन भइरहेको सशस्त्र प्रहरी सीमा सुरक्षाबल गौरका एसपी वीरेन्द्रकुमार श्रेष्ठले बताए ।

सगरमाथा एक परिचय

सगरमाथा संसारको सबैभन्दा अग्लो चुचुरो हो। यसको उचाइ समुद्र सतहबाट ८,८४८ मीटर (२९,०२८ फीट) छ। यो नेपालको सोलुखुम्बु जिल्लाको खुम्जुङ्ग गाविसमा पर्छ। तिब्बती भाषामा यसको नाम चोमोलुङ्गमा हो। सगरमाथालाई सन १८६५मा कर्णेल सर जोर्ज एभरेष्टको नाममा Mount Everest नामाकरण गरिएको थियो। पछि सन १९६०मा इतिहास शिरोमणि बाबुराम आचार्यले यसको नाम सगरमाथा राखेका हुन साथै उनले सगरमाथाको नेपाली नाम झ्यामोलोङ्मो पनि लेखेका छन्।  यसलाई कतै कतै देवढुङ्गा पनि भन्ने गरे
को पाइन्छ। सगरमाथा शिखरमा सर्वप्रथम, सन १९५३ मे २९ तारिखको बिहान ११:१५ बजे, नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका सर एड्मन्ड हिलारीले पाइला राखेका थिए।

नामकरण र आरोहणको पृष्ठभूमि
सन् १८०९मा माथिल्लो गंगा अर्थात कुमाउक्षेत्रको खोजीमा निस्केका डब्लूएस वेबले नेपालमा धौलागिरी पर्वत ८ हजार मिटरभन्दा माथिको उचाइमा रहेको रहस्योद्घाटन गरेका थिए अर्थात हिमालयका अग्ला पर्वतहरूमध्ये सबैभन्दा पहिले उचाइ नापिएको हिमाल धवलागिरी (८,१७२ मिटर) हो। यस हिमालको उचाइ नापेपछि यसैलाई संसारको अग्लो भनिएको थियो। पछि सन् १८४८मा कञ्चनजङ्घाको उचाइ नापियो र यसको उचाइ ८ हजार ५ सय ८६ मिटर हो भन्ने निक्र्योल भएपछि कञ्चनजङ्घालाई संसारको अग्लो चुचुरो भनियो। त्यही वर्ष अन्य हिमालहरूको उचाई नापियो र रेकर्ड संकलन गरेर सर्वे अफ इन्डियाको कार्यालयमा पठाइयो। त्यसको करिब तीन वर्षपछि सन् १८५२मा जब सगरमाथा विश्वकै सबभन्दा अग्लो शिखर भन्ने ठहर भयो, त्यतिखेर त्यसको उचाइ २९ हजार २ फिट भनी मानियो। सगरमाथालाई रोमन संकेतचिहृन 'पिक १५' नाम प्रदान गरियो। सन् १८५२ तिर पहाडहरूको उचाइ 'कियोडा लाइट' यन्त्रको प्रयोगबाट मापन गरिरहेका भारतको सर्वे विभागको एउटा टोलीका सदस्यहरूमध्ये एक-बंगाली नागरिक राधानाथ सिक्दरले आफूले सर्वोच्च शिखर पत्ता लगाएको दाबी गरे। राधानाथका सहयोगिका रूपमा हेनेसी नामका उनका चेला थिए। उक्त विभागका सर्वे कर्मचारीहरू तेजवीर बुढाथोकी र राधानाथ सिक्दरले पत्ता लगाएको उक्त शिखरको उचाइ ८ हजार ८ सय ४० मिटर थियो। राधानाथ प्रतिभाशाली गणितज्ञ थिए। सर्वे अफ इन्डियामा जागीरे हुँदा उनको उमेर केबल १९ वर्षको थियो। बंगालमा आज पनि उनलाई संझनु पर्ने एउटा कारण छ किन भनें उनले 'मासिक पत्र' नामको हुलाक-पत्रिका निकाल्थे, जुन विशेषत महिलाहरूका लागि थियो। यस हुलाक-पत्रिकामा बंगाली भाषा प्रयोग हुन्थ्यो र महिलाहरूको सामाजिक चेतनाको स्तर उठाउने खालका सामग्रीहरू हुन्थे। सर्वोच्च शिखरको उचाइ नाप्ने विधि बेलायतका इन्जिनियर जर्ज एभरेष्टले विकास गरेका थिए। विश्वको सर्वोच्च शिखर खोज्ने कार्य सुरू भएपछि बिहार (भारत)को समतल मैदानको अध्ययन गरिरहेका भारतका सर्वेयर-जनरल सर एन्ड्रयू वाघले आफ्ना अग्रज जर्ज एभरेष्टका स्मरणमा पन्ध्रौँ चुचुरो भन्ने नामबाट फेरेर सन् १८६५ (वि.सं. १९२१)मा 'माउण्ट एभरेष्ट' नाम राखिदिए। एन्ड्रयू वाघको उक्त टोलीले नेपालको एक हिमशिखर संसारको सर्वोच्च भागका रूपमा रहेको दाबी पनि गरे। भारतको तत्कालीन कम्पनीसरकारद्वारा उक्त नामकरण गरिँदा जर्ज ७५ वर्षका थिए। जर्ज एभरेष्ट सन् १८२५ देखि सन् १८४३ सम्म भारतका सर्वेयर जनरल थिए।
विसं २०१३ सालमा इतिहासशिरोमणि बाबुराम आचार्यले उक्त पर्वतको नेपाली न्वारान गरी 'सगरमाथा' नाम राखिदिएका हुन। उनले यस पर्वतको नेपाली नाम 'शारदा' नामक पत्रिकामार्फत गरेका थिए।