Sunday, May 25, 2014

भारतीय हस्तक्षेप

१.     वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका राजनीतिक मामिला हेर्ने कन्सुलर एसडी महेताले एक प्रदेशका लागि मधेशीहरुले आन्दोलन गर्नुपर्ने र त्यसको लागि आफूले सहयोग गर्ने भन्ने समाचार बाहिर आएपछि त्यस सम्बन्धमा तीव्र प्रतिक्रिया उत्पन्न भएको छ। नेपालीहरुले त्यसलाई खुल्लमखुल्ला हस्तक्षेप सम्झेका छन्।
२. कन्सुलर मेहताको त्यस भनाइप्रति संविधानसभाकालीन तीन ठूला दलका शीर्ष नेताहरु एकीकृत माओवादीका पुष्पकमल दाहाल प्रचण्ड, नेपाली काङ्ग्रेसका सुशील कोइराला तथा एमालेका झलनाथ खनालले आपत्ति जनाएका छन् र उनलाई पठाउन पहल गर्न सरकारसँग आग्रह गरेका छन्।
३.     नेपालको परराष्ट्र मन्त्रालय हेरिरहेका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले मेहताको त्यस अभिव्यक्तिलाई कूटनीतिक मर्यादाविपरीत त हुँदै हो, आन्तरिक मामिलामा समेत गम्भीर हस्तक्षेप हो भनेका छन्। सरकारले भारतीय राजदूत जयन्द्र प्रसादलाई पराराष्ट्र मन्त्रालयमा बोलाएर त्यस सम्बन्धमा आफ्नो चासो र चिन्ता व्यक्त गरेको छ।
४. यसबीच भारतले आफ्नो कूटनीतिज्ञ मेहताले त्यसो नभनेको कुरा सञ्चारमाध्यममा आएको भन्दै खण्डन गरेको छ। उसले नेपाल भारत सम्बन्ध बिगार्न चाहनेहरुले प्रायोजितरूपमा गरेको हल्ला समेत भनेको छ तर विगतमा भारतीय कूटनीतिज्ञहरुको चलखेल हेर्दा त्यसलाई नकार्न सकिंदैन। राजनीतिक नेताहरुको बैठकमा भारतीय कूटनीतिज्ञको उपस्थिति रहेको समाचार बराबर सार्वजनिक भएका थिए।
५. हाम्रा नेताहरु कमजोर भएका र भारतीयको धोती समातेर सत्तामा पुग्न पल्केका त्यस्ता कतिपय कुरा भित्रभित्रै मात्र चर्चा हुने गर्दछन्। अझ भनौं भने भारतीय आशीवाद पाउन यहाँ प्रतिस्प्रधाझैं नै हुने गर्दछ। त्यो कुरा नेपालको राजनीतिमा ओपन सेक्रेटजस्तै भएको छ। हाम्रै त्यही प्रवृत्तिबाट भारतीयहरुले बढीभन्दा बढी फाइदा उठाउने गरेका छन्।
६.     कतिपय कूटनीतिक कुराहरु बाहिर विवादस्पद भए औपचारिकरूपले खण्डन गर्ने गरिन्छ। तर त्यस्ता औपचारिक खण्डनले वास्तविकता र सत्य तथ्य छिपाउन सक्दैन। वीरगञ्ज प्रकरणको खण्डनले नेपाली मानसिकतालाई चित्त बुझाउन सक्दैन। यस्तोमा मधेशवादी नेताहरुको भूमिकाले पनि हावा कुन दिशातिर बहेको छ भन्ने आभाष दिन्छ।
७. नेपालीहरुले एक मधेश एक प्रदेशको नारा गलत हो र यसले नेपाल राष्ट्र र राष्ट्रियतालाई कमजोर पार्दछ भन्दै आएको कुरा हो। तर एक पक्ष त्यसैमा हुरुक्क भएर लागिरहेका छन्। त्यसको लागि राष्ट्र टुक्रिने धम्की पनि नेताहरुले नदिएको होइन। यी सबैको परिपे्रक्षमा एसडी मेहेताले त्यसो भनेनन् होला भन्न सकिने स्थिति छैन त्यसकारण सरकारले कडा कदम चाली उनलाई फिर्ता पठाउनुपर्दछ।

नेपाली भूमिमा भारतीय हस्तक्षेप

कञ्चनपुरको दक्षिणी सीमामा रहेको त्रिभुवनबस्ती-३ सुकुम्वासी बस्तीमा रहेको बालजागृति प्राथमिक विद्यालय भवन निर्माण कार्यमा भारतीय पक्षले हस्तक्षेप गरेको छ । भारतीय अधिकारीले विद्यालय भवन निर्माणस्थलमै आएर निर्माण रोक्न आग्रह गरेको ३ दिनपछि भारतीय दूधूवा नेसनल पार्कका वन रक्षकहरु आएका नेपालीमाथि कुटपिट गरेका छन् । उत्तर प्रदेशको पलियाका प्रशासनिक अधिकारी, सुरक्षा अधिकारी, एसएसबीका अधिकारी र वन अधिकारीहरु आएर निर्माण रोक्न आग्रह गरेका थिए । भारतीय अधिकारीहरुले भवन निर्माणस्थल भारतीय क्षेत्रमा पर्ने दावी गर्दै आइरहेका छन् । बिहीबार दिउँसो भवन निर्माण स्थलमा आएका भारतीय वन रक्षकहरुले नेपालीमाथि कुटपिट गरेका हुन् । नेपाल भारत सीमा पिलर नम्बर १९९ बाट झण्डै १ किलोमिटर नेपालतर्फ रहेको ठाउँमा भारतीय पक्षले हस्तक्षेप गरेको हो । भवन निर्माण भइरहेको जग्गा राष्ट्रिय आवास कम्पनीको नाममा रहेको छ ।